नेपाल र मलेसिया बीचको चौथो टी-२० आई खेल मंगलबार हुने

आश्विन २०, २०८२ |खेल ब्युरो
नेपाल र मलेसिया बीचको चौथो टी-२० आई खेल मंगलबार हुने

काठमाडौं । नेपाल र मलेसिया राष्ट्रिय महिला क्रिकेट टिमबीचको चौथो टी-२० आई खेल भोलि अर्थात् मंगलबार हुँदै छ । 

क्वालालाम्पुरस्थित बायुमास ओभलमा खेल नेपाली समय अनुसार बिहान पौने ८ बजे सुरू हुनेछ । पाँच खेलको टी-२० आई सिरिजमा घरेलु टोलीले २-१ को अग्रता बनाएको छ । नेपाल यो खेल जित्दै सिरिज बराबरी अवस्थामा फर्काउने प्रयासमा हुने छ । नेपाललाई सिरिज जोगाउन यो खेल जित्नै पर्ने दबाब छ । घरेलु टोलीले जित हात पारे उसले एक खेल अगावै सिरिज कब्जा गर्ने छ ।

आइतबार सम्पन्न तेस्रो टी-२० आई खेलमा १३ रनले परानजित भएपछि सिरिजमा नेपाल २-१ ले पछि परेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । नेपालविरूद्ध एइना हामिजाह हासिमले ५८ बलमा ६१ रनको योगदान दिएकी थिइन् । 

जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक थियो । ३ खेलमा १ सय ३७ रन बनाइ सकेकी हासिम जारी सिरिजकी सर्वाधिक रन कर्ता हुन् । नेपाललाई सिरिज जोगाउन हासिमको ब्याट रोक्नु आवस्यक देखिन्छ ।नेपालका लागि कविता जोशी र कविता कँवरले समान २-२ विकेट लिएका थिए । जारी सिरिजमा दुबै कविताले ३-३ विकेट लिएका छन् ।

जवाफमा नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो । ६ खेलाडी रन आउट हुनु नेपालका लागि सबै भन्दा नोक्सानदायक बनेको थियो । सम्झना खड्का, रूवी पोदार कविता कुँवर ,कविता जोशी, यशोदा विष्ट र सोमु विष्टले रन आउटको रूपमा विकेट गुमाएका थिए । नेपाललाई सिरिज जोगाउन रन कल र रनिङ विट्टुइन द विकेटमा विशेष ध्यान दिनुपर्नेछ ।

ब्याटिमा नेपालका लागि उपकप्तान पुजा महतोले ३ खेलमा ७१ र कप्तान इन्दू बर्माले ६१ रन बनाउका छन् । दुबै खेलाडी शीर्ष रन कर्ताको क्रमस दोस्रो र तेस्रो स्थानमा छन् । पहिलो खेलमा ३ रनको हार बेहोरेको नेपालले दोस्रोमा ६ विकेटको जीत हात पार्दै पुनरागमन गरेको थियो । तेस्रो खेलमा हार बेहोरे पछि नेपाललाई पुनरागमनको आवस्यकता छ ।