जुम्लामा निर्माण हुने भनिएका सबै खेल पूर्वाधारहरू अलपत्र, कतै बजेट अभाव त कतै जग्गा विवाद

खेलको विकास समेत प्रभावित
आश्विन १९, २०८२ |डीबी बुढा
जुम्लामा निर्माण हुने भनिएका सबै खेल पूर्वाधारहरू अलपत्र, कतै बजेट अभाव त कतै जग्गा विवाद

जुम्ला । जुम्लामा निर्माण हुने भनिएका सबैजसो खेल पूर्वाधारहरू अलपत्र परेका छन् । 

कतै बजेट अभाव, कतै जग्गा विवाद त कतै ठेकेदारको रकम भुक्तानीमा भएको ढिलासुस्तीले खेल पूर्वाधार अलपत्र बनेका हुन् । यसले खेल प्रशिक्षण र खेलकुद प्रतियोगितामा ठूलो असर परेको छ । जुम्लाको पातारासी-३ मा बन्ने भनिएको हाइअल्टिच्युट ट्रेनिङ सेन्टर जग्गा विवादले अलपत्र छ । 

मैदान सम्याउन झन्डै ३ करोड खर्च भइसकेको भए पनि जग्गा विवादले आयोजना नै अलपत्र परेको हो । त्यसैले गत आर्थिक वर्षमा यो परियोजनाका लागि विनियोजन भएको पाँच करोड ६६ लाख ५० हजार रूपैयाँ फ्रिज भयो ।

त्यस्तै राजसिममा रंगशाला निर्माणमा चरम ढिलासुस्ती भएको छ । एथेलेटीक्स खेलाडीको अभ्यासका लागि ट्रयाकसहितको फुटबल रंगशाला निर्माणमा ठेकेदारले ढिलासुस्ती गरेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ४० करोड ६२ लाख लागतमा रंगशालासहित अन्य पूर्वाधार निर्माण गर्ने ठेक्का लिएको 'कवीन्द्र निर्माण सेवा'ले सम्झौता मिति सकिनै लाग्दासमेत काम अधुरै छाडेको छ । 

यही भदौ १९ गते सम्झौता सकिएको रंगशाला निर्माणको भौतिक प्रगति ७० प्रतिशत छ । जिल्ला खेलकुद विकास समितिको कार्यालय जुम्लाको आडमै ६ वर्षदखि भलिबलको प्याराफिट अलपत्र छ । आर्थिक वर्ष २०७६/०७७ देखि निर्माण सुरू भएको प्याराफिटको काम बजेट अभावले अलपत्र परेको हो । 

यो योजनाका लागि पहिलो वर्ष कर्णाली प्रदेश सरकारले २० लाख पठाएको देखिन्छ । दोस्रो वर्ष २५ लाख रूपैयाँ आएर प्याराफिटलगायतको काम भएको थियो । कुल लागत स्टमेट एक करोड ९० लाख रूपैयाँ रहे पनि पछिल्ला वर्षमा बजेट विनियोजन नहुँदा प्याराफिट निर्माण रोकिएको हो ।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया, चर्चित धाविका सुनमाया बुढाको नामले चिनिने जुम्लामा खेलपूर्वाधारहरू वर्षौदेखि अलपत्र पर्नु दुःखद छ । नियमित अभ्यास गर्ने ठाउँसमेत नहुँदा एथ्लेटिक्स खेलाडीहरू घामपानी नभनेर डाँडापाखामा दौडिनु पर्ने बाध्यता छ । 

जिल्लामा नियमित अभ्यास गर्ने र आयोजना गर्ने खेलपूर्वाधार नहुँदा खेलाडीहरू खुम्चिनुपर्ने अवस्था आएकोमा खेलाडी निराश छन् ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।