ईपीएलमा आज पाँच खेल हुँदै

आश्विन १९, २०८२ |खेल ब्युरो
ईपीएलमा आज पाँच खेल हुँदै

काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा आइतबार सातौं चरणका अन्तिम पाँच खेल हुँदै छन् । 

जि-टेक कम्युनिटी स्टेडियममा राति सवा ९ बजे म्यानचेस्टर सिटी र ब्रेन्टफोर्ड प्रतिस्पर्धा गर्दै छन् । यो खेल सिटीका प्रशिक्षक पेप गार्डिओलाका लागि प्रिमियर लिगमा अर्को ऐतिहासिक उपलब्धि हासिल गर्ने मौका हुने छ । यो खेल जित्न सके गार्डिओलाले प्रशिक्षकको रुपमा २ सय ५०औं जित पूरा गर्ने छन् ।

केही कमजोर नतिजापछि सिटी पुनः लयमा फर्किएको छ । उसले पछिल्ला तीन प्रिमियर लिग खेलबाट सात अंक बटुलेको छ । प्रिमियर लिगमा टोटनहम र ब्राइटनविरुद्धको हारलाई बिर्साउँदै गत साता बर्नलीलाई ५-१ ले पराजित गरेको सीटी च्याम्पियन्स लिगमा मोनाकोसँग २-२ को बराबरीमा रोकिएको थियो ।

गार्डिओलाको टोलीले ब्रेन्टफोर्डविरुद्ध जित निकाल्न सके उनी केबल ३ सय ४९ खेलमै २ सय ५० जित हासिल गर्दै सबैभन्दा छिटो यो उपलब्धि हासिल गर्ने प्रशिक्षकको कीर्तिमान स्थापित गर्ने छन् । गत साता म्यानचेस्टर युनाइटेडविरुद्ध ३-१ को प्रभावशाली जित हात पारेको ब्रेन्टफोर्ड लयमा फर्कने प्रयासमा छ ।

हाल ब्रेन्टफोर्ड तालिकामा केही तल रहे पनि अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको छ । घरमै खेलेका पछिल्ला छ प्रिमियर लिग खेलमध्ये पाँचमा कम्तिमा दुई गोल गरेको टोलीले केवल एकमा हार बेहोरेको छ । ब्रेन्टफोर्डले सन् २०२३ मा सिटीलाई हराएको स्मरण पनि ताजा छ ।

६ खेलमा ३ जितसहित १० अंक जोडेको सिटी लिगको ८औं स्थानमा छ । समान खेलमा ७ अंक जोडेको ब्रेन्टफोर्ड १४औं स्थानमा छ । आज साँझ पौने ७ बजे हुने खेलमा एभर्टन र क्रिस्टल प्यालेस, न्यूक्यासल र नटिङहम फरेस्ट वुल्भ्स र ब्राइटन तथा एस्टोन भिल्ला र बर्नले प्रतिस्पर्धा गर्ने छन् ।