काठमाडौं । दक्षिण एसियामा फुटसलको विकासलाई प्रवर्द्धन गर्न दक्षिण एसियाली फुटबल महासंघ-साफले पहिलो पटक पुरुष र महिला दुबैका लागि साफ फुटसल च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको छ ।
प्रतियोगिता सन् २०२६ जनवरी १३ देखि २६ सम्म थाइल्यान्डमा आयोजना हुनेछ । प्रतियोगितासँगै प्रशिक्षक र रेफ्रिका लागि क्षमता अभिवृद्धि तालिमसमेत सञ्चालन गरिने साफले जनाएको छ । फुटसल विश्वभर लोकप्रिय खेल भए पनि दक्षिण एसियामा अझै प्रारम्भिक अवस्थामा रहेको र त्यसलाई व्यवस्थित रूपले विकास गर्न साफ प्रतिबद्ध रहेको बताइएको छ ।
फिफा सदस्य राष्ट्रहरूले फुटबलसँगै फुटसल र बिच फुटबलमा पनि सक्रिय हुनुपर्ने भए पनि त्यसको विकास सुस्त रहेको साफ महासचिव पुरूषोत्तम काडेले बताएका छन् । प्रतियोगितासम्बन्धी थप विवरण पछि सार्वजनिक गरिने साफले जनाएको छ ।