सगरमाथा क्षेत्रका ६ वटा पदमार्ग पहिरोले भत्किए, विकल्प अपनाउन स्थानीय सरकारको अपील

आश्विन २०, २०८२ |भानुभक्त निरौला
सगरमाथा क्षेत्रका ६ वटा पदमार्ग पहिरोले भत्किए, विकल्प अपनाउन स्थानीय सरकारको अपील

सोलुखुम्बु । लगातारको वर्षा र हिमपातका कारण विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रका ६ स्थानका पदमार्ग भत्किएको छ । 

सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिका भित्रका विभिन्न ६ वटा पदमार्ग भत्किएका हुन् । गत १८ गते देखि परेको वर्षात्‌का कारण खुम्बु क्षेत्रको ३ वटा वडाका ६ वटा पदमार्ग भत्कीएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मिङमा छिरि शेर्पाले एक सूचना जारी गर्दै वडा नम्बर ३, ३ र ५ का पदमार्गहरू भत्किएकाले पर्यटकहरूलाई पूर्ण सूचना लिएर मात्र भ्रमण गर्नका लागि आग्रह गर्नुभएकाे छ।

वडा नम्बर ३ मा रहेको जोरसल्लेबाट हिलारी ब्रिज जाने पदमार्ग पहिरोको कारण भत्किएको छ भने वडा नम्बर ४ का मोङजाँडाबाट गोक्यो जाने बाटो, पोर्चे थेङादेखि फोर्चे जानेबाटो र फोर्चेबाट गोक्यो जाने बाटो पहिरोका कारण भत्किएको छ ।

यस्तै वडा नम्बर ५ को नाम्चेदेखि फुर्ते जाने बाटोमा क्षति भएको छ भने थामे पुलदेखि थामे जाने बाटोसमेत पहिरोको कारण भत्किएर क्षति ग्रस्त भएको अध्यक्ष शेर्पाको भनाइ छ । पदमार्ग भत्किएकाले घुम्न जाने पर्यटक, गाइड तथा स्थानीयहरूलाई पूर्ण सूचना लिएर मात्र हिँड्न गाउँपालिकाले भनेको छ ।

क्षतिग्रस्त पदमार्गको पुनर्निर्माणको काम गाउँपालिकाले थालेको छ । अहिले मान्छे हिड्ने बाटो बिग्रिएपछि पर्यटकहरू खच्चड तथा जोक्पे हिँड्ने बाटो प्रयोग गरिरहेका छन् ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।