नियुक्त भएको २९ दिनमै फ्रान्सका प्रधानमन्त्री लेकोर्नुद्वारा राजीनामा

आश्विन २०, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
नियुक्त भएको २९ दिनमै फ्रान्सका प्रधानमन्त्री लेकोर्नुद्वारा राजीनामा

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री सेबेस्टियन लेकोर्नुले पदमा नियुक्त भएको २९ दिनमै राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्रीका रूपमा काम गर्न आवश्यक पर्ने सर्तहरू पूरा नभएको टिप्पणी गर्दै लेकोर्नुले राजीनामा दिनुभएको हो । उहाँले राजनीतिक दलहरू सहमतिमा पुग्न अनिच्छुक रहेको भन्दै आलोचनासमेत गर्नुभएको छ। प्रधानमन्त्री लेकोर्नुले आइतबारमात्र मन्त्रिपरिषद् घोषणा गर्नुभएको थियो ।

दलहरूले मध्यावधि चुनावको घोषणा गर्न र राष्ट्रपति इम्यानुअल म्याक्रोंको राजीनामा माग गरेका छन् । तर, म्याक्रोंले भने सन् २०२७ सम्मको कार्यकाल समाप्त हुनुअघि राजीनामा नदिने जनाउनुभएको छ । हालैमात्र फ्रान्समा अघिल्लो सरकारले ल्याएको बजेट कटौतिको विरोधमा विरोध प्रदर्शन भएको थियो ।