काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोले अवरूद्ध भएका अधिकांश राजमार्ग सञ्चालनमा आएका छन् । केही राजमार्ग भने खुलाउने प्रयास जारी छ ।
काभ्रेको रोशी खोलामा आएको बाढी र पहिरोले भत्किएर अवरूद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याउन डाइभर्सन निर्माण थालिएको छ । चौकीडाँडाबाट रोशी खोलातर्फ डाइभर्सन निर्माणको काम सुरू गरिएको हो । रोशी गाउँपालिकाको पहलमा राजमार्ग पुनः सञ्चालनका उपायबारे छलफल गर्न साेमबार बैठक बसेको थियो ।
बैठकले बीपी राजमार्गअन्तर्गत तेमाल खण्ड मर्मत गर्न सडक डिभिजन र निर्माण कम्पनीबीच समन्वय गरी तत्काल डाइभर्सन निर्माण गर्ने निर्णय गरेको हो । त्यसैगरी काभ्रेकै नमोबुद्ध नगरपालिका-६ र रोशी गाउँपालिका-७ को सिमानामा पर्ने थानसिङ बेशीस्थित रोशी खोलामाथिको क्षतिग्रस्त पुल भएको ठाउँमा बेलिब्रिज निर्माण गर्ने निर्णय भएको छ ।
मेची राजमार्ग भने अझै सञ्चालनमा आउन सकेको छैन । यो राजमार्गका धेरै ठाउँमा पहिरो गएकाले पन्छाउने प्रयास जारी छ । उता पहिरो पन्छाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । मकवानपुरको बकैया गाउॅंपालिका-११ घट्टेपाखाको पहिरो हटाएर अलपत्र यात्रुलाई गन्तव्यतर्फ पठाइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो ।
करिब चार घन्टाको प्रयासपछि पहिरो पन्छाएर अलपत्र सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको हो । यसैगरी नारायणगढ-मुग्लिन सडक बिहानैदेखि सञ्चालनमा ल्याइएको छ । यो खण्डमा पहिरोको जोखिम कायमै रहेकाले सावधानीपूर्वक सुरक्षित यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।