नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज कतारसँग वार्मअप म्याच खेल्दै

आश्विन २०, २०८२ |खेल ब्युरो
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज कतारसँग वार्मअप म्याच खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले साेमबार कतारसँग वार्मअप म्याच खेल्दैछ । 

टी-ट्वेन्टी विश्वकप छनोटअघि यो अन्तिम खेल हो । मस्कटस्थित ओमान क्रिकेट एकेडेमी ग्राउन्ड वानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरू हुनेछ । यो खेलसँगै नेपालले विश्वकप छनोटको तयारी पुरा गर्नेछ । ओमानमा, नेपालको यो दोस्रो वार्मअप म्याच हो । 

यसअघि भएको खेलमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । कतारले भने आइतबार भएको वर्म अप म्याचमा कुबेतसँग ३४ रनको हार बेहोरेको थियो । कुबेतले १९ ओभर ५ बलमा अलआउट भएर १ सय ८४ रन बनाएको थियो । जवाफमा कतारले ६ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो । 

दुबै टिमका लागि विश्वकप छनोटअघि आफ्नो टिमका भएका कमजोरी सुधारको यो अन्तिम अवसर पनि हो । विश्वकप छनोट बुधबारदेखि ओमानमा सुरू हुँदैछ । समूह 'बी'मा रहेको नेपालले कुबेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ । कतारले मलेसिया र यूएईसँग खेल्नेछ । 

समूह 'सी'मा घरेलु टिम ओमान, पपुवा न्युगिनी र सामोआ छन् । तीन समूहका शीर्ष दुई टिम सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्सबाट तीन टिमले अर्को वर्ष हुने टी-२० विश्वकपमा स्थान बनाउनेछन् ।