आईसीसी महिला विश्वकप : आज न्यूजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै

आश्विन २०, २०८२ |खेल ब्युरो
आईसीसी महिला विश्वकप : आज न्यूजिल्यान्ड र दक्षिण अफ्रिका भिड्दै
Photo Source : Agency

काठमाडौं । आईसीसी महिला विश्वकपमा साेमबार न्यूजिल्यान्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै छन् । 

भारतको इन्दोरस्थित होलकर स्टेडियममा खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरू हुनेछ । आफ्नो दोस्रो खेलका लागि तयार रहँदा दुबै टोलीले अंकको खाता खोल्न सकेका छैनन् । न्यूलिल्यान्ड आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग ८९ रनको फराकिलो अन्तरले पराजित भएको थियो । कप्तान सोफी डिवाइनले १ सय १२ रनको शतकीय इनिङस् खेले पनि जितका लागि पर्याप्त हुन सकेको थिएन ।

दक्षिण अफ्रिका इंग्ल्यान्डसँग १० विकेटले पराजित भएको थियो । दुबै टोली प्रतियोगितामा जितको खाता खोल्ने लक्ष्यसहित मैदानमा उत्रिने छन् । न्यूलिल्यान्ड सन् २००० को महिला विश्वकपको विजेता हो भने अफ्रिकी टोलीले हालसम्म उपाधि जित्न सकेको छैन । 

महिला एकदिवसीय अन्तर्राष्ट्रियमा दक्षिण अफ्रिकाविरूद्ध न्यूलिल्यान्ड हाबी देखिन्छ । दुई टोलीबीच हालसम्म खेलिएका २० ओडीआईएमा न्यूजिल्यान्डले १२ र दक्षिण अफ्रिकाले ८ खेल जितेका छन् । एकदिवसीय विश्वकपमा खेलिएका ४ मध्ये ३ खेल न्यूजिल्यान्ड र एक खेल दक्षिण अफ्रिकाले जितेको छ ।

सुरूवाती खेल गुमाएका कारण न्यूजिल्यान्ड तालिकाको सातौं तथा दक्षिण अफ्रिका आठौं अर्थात् पुछारमा छ ।