आईसीसी महिला विश्वकप : आज भारत र पाकिस्तान भिड्दै

आश्विन १९, २०८२ |खेल ब्युरो
आईसीसी महिला विश्वकप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं । आईसीसी महिला विश्वकपमा आइतबार भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दै छन् । 

कोलम्बोमा खेल नेपाली समय अनुसार सवा ३ बजे सुरु हुनेछ । लगातार चौथो पटक आइतबार भारत र पाकिस्तानबीच क्रिकेट भिडन्त हुन लागेको हो । गत सेप्टेम्बर १४, २१ र २८ मा पुरुष टिमबीच एसिया कपमा भएका तीनै खेल भारतले जितेको थियो । जसमा एसिया कपको फाइनल समेत सामेल छ । 

पुरुष क्रिकेटमा हात नमिलाएको देखि दुबै टिमले गरेका सैन्य इसारा र भारतले ट्रफी ग्रहण गर्न अस्वीकार गरेको विषय निकै विवादित बनेका थिए । महिला विश्वकपमा दुई टोली आफ्नो दोस्रो खेलका लागि मैदानमा उत्रिने तयारीमा छन् । भारतले पहिलो खेलमा श्रीलंकालाई हराएको छ भने पाकिस्तान बंगलादेशसँग पराजित भएको थियो ।

पाकिस्तानले भारतविरूद्ध अहिलेसम्म कुनै पनि महिला वन डे जित्न सकेको छैन । दुवै टोलीबीच भएका ११ खेलमध्ये सबैमा भारत विजयी भएको छ । विश्वकपमा दुई टोली चारपटक आमनेसामने भएका छन् जहाँ सबै खेलमा भारतले जित हात पारेको छ ।

जारी विश्वकपमा २ अंक जोडेको भारत चौथो स्थानमा छ भने अंकविहीन पाकिस्तान छैंटौं स्थानमा छ । यो खेल वर्षाका कारण प्रभावित हुने उच्च सम्भावना छ । आज कोलम्बोमा वर्षाको शत प्रतिशत सम्भावना रहेको मौसम पूर्वानुमान छ ।