आर्सनल इपीएलको शीर्ष स्थानमा उक्लियो

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
आर्सनल इपीएलको शीर्ष स्थानमा उक्लियो

काठमाडौं । आर्सनल, वेस्टह्याममाथि दुई-शून्य गोलको जीत हात पार्दै इङलिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुल चेल्सीसँग हार्दा त्यसको फाइदा आर्सनललाई पुग्यो ।

इमिरेट्स स्टेडियममा आर्सनलले ३८ औं मिनेटमा डेक्लान राइसको गोलमार्फत् अग्रता लिएको थियो । राइसको सिजनको यो पहिलो गोल हो । आर्सनल प्रशिक्षक मिकेल अर्टेटाले तीन मिडफिल्डर राइस, मार्टिन ओडेगार्ड र एबर्ची एजेलाई सँगै मैदान उतारेका थिए । तर यी तीन खेलाडीको समन्वय लामो समय रहेन । चोटका कारण ओडेगार्ड पहिलो हाफमा नै मैदान बाहिरिए । उनी लगातार तीन प्रिमियर लिग खेलमा ब्रेकअघि सब्सिच्युट भएका हुन् । उनी प्रिमियर लिग इतिहासमा लगातार तीन खेलमा हाफ टाइमभन्दा अघि सब्सिच्युट हुने पहिलो खेलाडी बनेका छन् । 

६७ औं मिनेटमा बुकायो साकाले पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । गोलसँगै साकाले आफ्नो दुई सयौं प्रिमियर लिग खेल विशेष बनाए । बाँकी समयमा वेस्टह्याम खेलमा फर्कन नसक्दा अर्टेटाले आर्सनलको प्रशिक्षकका रुपमा तीन सयौं खेलमा जीत हात पारे । शीर्ष स्थानको आर्सनलको ७ खेलबाट १६ अंक छ । १९ औं स्थानमा रहेको वेस्टह्यामको मात्र ४ अंक छ । गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई दुई-शून्य गोलले पराजित गर्यो । ओल्ड ट्राफोर्डमा युनाइटेडका लागि आठौं मिनेटमा मेसोन माउन्ट र ३१ औं मिनेटमा बेन्जामिन सेस्कोले गोल गरेका थिए । टटेनहमले लिड्स युनाइटेडलाइ दुई-एक गोलले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.