बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डकाे ठाउँ-ठाउँमा कटान

आश्विन १९, २०८२ |पुजन धिताल
बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डकाे ठाउँ-ठाउँमा कटान

काभ्रे । अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रे खण्डकाे ठाउँ-ठाउँमा कटान गरेको छ ।

रोशी गाउँपालिका-९ बोक्सिकुनामा रोशी खोलाले झन्डै २ मिटर सडक कटान गरेको छ भने वडा नम्बर ७ घुमाउनेमा अन्दाजी १५ मिटर सडक कटान गरेको छ । त्यस्तै नमोबुद्ध नगरपालिकाको ६ नम्बर वडा चौकीडाँडामा रोशी खोलाले नै २० मिटरजति सडक कटान गरेको छ । 

त्यस्तै रोशी गाउँपालिका-११ स्थित बुलढङ्गा र डालावेशीमा अन्दाजी एक-एक सय मिटर सडक कटान भएको प्रहरीले जनाएको छ । त्यस्तै रोशी गाउँपालिका-११ पिप्लेमा झन्डै ५० मिटर सडक रोशीको बाढीले कटान गरेको छ । यात्रुको सुरक्षाका लागि हाल यो खण्डमा सवारी आवागमन निषेध गरिएको छ ।

यसैबीच बीपी राजमार्गको बर्दिबास सिन्धुली खण्डअन्तर्गत सिन्धुलीको कमलामाई ८ को हर्दियामा खसेको पहिरो पन्छाउन सुरू भएको छ । यो खण्डको ३७ किलोमिटरमा पहिरो पन्छाएर यातायात खुलाउने प्रयास भइरहेको हो ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।