खुर्कोट-मन्थली-खिम्ति-मिल्ती सडकमा रात्रिकालीन आवागमन निषेध

आश्विन १९, २०८२ |नवराज श्रेष्ठ
खुर्कोट-मन्थली-खिम्ति-मिल्ती सडकमा रात्रिकालीन आवागमन निषेध

रामेछाप । अविरल वर्षाले सडकमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले खुर्कोट-मन्थली-खिम्ति-मिल्ती सडक खण्डमा रात्रिकालीन सवारी आवागमन निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार असोज १७ गतेदेखि जारी वर्षा निरन्तर भइरहेकाले यात्रु तथा सवारी साधनलाई बाढी-पहिरोको सम्भावित जोखिमबाट जोगाउन मिति असोज १९ गतेदेखि असोज २४ गते (शुक्रबार)सम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।

उक्त अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारी साधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारी साधन चलाउन नपाइने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यात्रु वर्गमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै सबैलाई सतर्क रहन र सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।