काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत भियतनामविरूद्धको खेलका लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ ।
प्रशिक्षक म्याट रसले आइतबार किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन् । प्रारम्भिक प्रशिक्षणमा सामेल १० खेलाडी बाहिर राख्दै अन्तिम टोली घोषणा गरिएको हो । प्रशिक्षक रसले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेको टोलीबाट ६ खेलाडी परिवर्तन गरेका छन् ।
एएफसी यू-२३ एसियन कप छनोटका कारण बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलमा गुमाएका आयुष घलान, सुमित श्रेष्ठ र कृतिश रत्न छुन्जु सिनियर टिममा फर्किएका छन् । त्यस्तै गोलकिपर विशाल सुनार तथा डिफेन्डर विमल पाण्डे र सनिश श्रेष्ठ पनि टिममा फर्किएका छन् ।
बंगलादेशविरूद्धको टिममा रहेका गोलकिपर टिकेन्द्र थापा, डिफेन्डर अमित लामा र रनदिन पौडेल, तथा फरवार्ड आदित्य शाक्य, समिर तामाङ र सृजन राज टिमबाट बाहिरिएका छन् । दुई टोलीबीचको पहिलो खेल असोज २३ गते खेलिने छ ।
यो खेल नेपालका लागि अवे म्याच हो । तर २८ गते खेलिने दोस्रो खेल नेपालमै हुनु पर्नेमा दशरथ रंगशाला अयोग्य ठहरिएपछि नेपालले आफ्नो होम गेम पनि विदेशमा खेल्नु पर्ने भएको हो ।