लिभरपुलमाथि चेल्सीको २-१ गोलको नाटकीय जित

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
लिभरपुलमाथि चेल्सीको २-१ गोलको नाटकीय जित

काठमाडौं । इङलिस प्रिमियर लिगमा चेल्सीले लिभरपुलमाथि दुई-एक गोलको नाटकीय जीत हात पारेको छ । चेल्सीका लागि स्टेभाओ विलियनले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।

स्टामर्फड ब्रिजमा गएराति भएको खेलमा चेल्सीले १४ औं मिनेटमा डेड लक तोडेको थियो । उसका लागि मोइसेस काइसेडोले करिब २० यार्डबाट शानदार गोल गरेका थिए । एलिसन चोटग्रस्त बनेपछि दोस्रो रोजाइका गोलकिपर जर्जी मामारदास्भिलीले लिभरपुलको पोस्ट सम्हालेका थिए । यस्तै प्रशिक्षक आर्ने स्लटले,समर साइनिङ फ्लोरियन भिर्टसलाइ बेन्चमा राखेका थिए । तर एक-शून्य गोलले पछि परेपछि उनले दोस्रो हाफमा उनलाइ मैदान प्रवेश गराए । ब्रेकपछि पनि घरेलु टिमले आफ्नो नियन्त्रण कायमै राखेको थियो । ६३ औं मिनेटमा लिभरपुलका कोडी गाक्पोले बराबरी गोल फर्काए । लिभरपुलका गोलकिपरले चेल्सीका दुई उत्कृष्ट प्रहारको बचाउ गरेका थिए । खेल एक-एकको बराबरीमा सकिनै लागेको थियो । तर इन्जुरी समयमा ब्राजिलियन टिनेजर स्टेभाओले , मार्क कुकुरेइयाको क्रसमा गोल गरेपछि चेल्सीले लिभरपुलमाथि सनसनीपूर्ण जीत हात पारेको हो ।

लिभरपुलको प्रिमियर लिगमा लगातार दोस्रो हार हो । अघिल्लो खेलमा क्रिस्टल प्यालेससँग दुई-एक गोलको हार बेहोरेको थियो । यस्तै च्याम्पियन्स लिगमा पनि लिभरपुल गालातासारायसँग पराजित भएको थियो । तालिकाको दोस्रो स्थानमा रहेको लिभरपुलको ७ खेलबाट १५ अंक छ । एघार अंकसहित चेल्सी छैंटौ स्थानमा छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.