रोशीमा बाटोमै सुत्केरी, हेलिकप्टर बस्न नसक्दा सडकमै जन्मिइन् छोरी

आश्विन १९, २०८२ |पुजन धिताल
रोशीमा बाटोमै सुत्केरी, हेलिकप्टर बस्न नसक्दा सडकमै जन्मिइन् छोरी

काभ्रे । काभ्रेको रोशी गाउँपालिका-५ सिसाखानीकी २१ वर्षीया अस्मिता लामा बाटोमै सुत्केरी भएकी छन्। 

लगातार तीन दिनदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्ग अवरूद्ध हुँदा उनलाई अस्पताल पुर्‍याउन नसकिए पछि अस्मिता लामा बाटोमै सुत्केरी भएकी हुन् । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार अस्मिता र सिन्धुलीका ज्ञानबहादुर मगरलाई उद्धारका लागि सेनाको हेलिकप्टर पठाइएको थियो। तर, सिसाखानी क्षेत्रमा हेलिकप्टर अवतरण गर्न ठाउँ नपरेकाले मगरलाई मात्र लिएर अस्पताल गएको र अस्मिता त्यहीँ स्थानीयको सहयोगमा सडकमै सुत्केरी बनेकी हुन्।

अस्मिताले एक छोरीलाई जन्म दिएकी छन्। उनका छिमेकी लोकबहादुर बलले टेलिफोनमार्फत जानकारी दिँदै भने, “बच्चाको तौल कम भएकोले समस्या पर्छ कि भनेर चिन्ता छ।” स्थानीयवासी र गाउँपालिकाको सहयोगमा आमाछोरी दुवैलाई सुरक्षित स्थानमा लगिएको र स्वास्थ्यकर्मीमार्फत उपचारका लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।