काठमाडौं । इंग्लिस प्रिमियर लिग-ईपीएलमा शनिबार ४ खेल हुँदै छन् ।
सबैभन्दा रोमाञ्चक खेलमा नेपाली समय अनुसार राति सवा १० बजे स्ट्यामफर्ड ब्रिजमा लिभरपुल र चेल्सी आमने-सामने हुने छन् । हाल लिगको शीर्ष स्थानमा रहेको लिभरपुल आजको खेल सुरू हुनुअघि नै तालिकाको शिखरबाट तल झर्न सक्ने अवस्थामा छ ।
आर्ने स्लटको टोलीले पछिल्ला खेलहरूमा कमजोर प्रदर्शन गर्दै दबाबमा छ । यस्तै एन्जो मारेस्काको प्रशिक्षणमा रहेको चेल्सीले पनि सुरूवाती सिजनको प्रदर्शनमा एकरूपता देखाउन सकेको छैन । चेल्सीले लिगमा ६ खेलमा मात्र दुई जित, दुई बराबरी र दुई हारसहित ८ अंक जोडेर ८औं स्थानमा छ ।
गत साता ब्राइटनसँग ३-१ ले पराजित चेल्सी अनुशासनहीनता र चोटले पीडित देखिन्छ । ऊ शीर्ष स्थानको लिभरपुलभन्दा सात अंकले पछि छ । यद्यपि, च्याम्पियन्स लिगमा बेनफिकाविरुद्ध १-० को जितले मारेस्काको टोलीलाई केही आत्मविश्वास दिएको छ ।
लिभरपुल पनि पछिल्ला दुई खेलमा पराजित हुँदै कमजोर अवस्थामा पुगेको छ । गत साता क्रिस्टल प्यालेससँग २-१ को हारपछि, मंगलबार च्याम्पियन्स लिगमा समेत हारको सामना गर्नुपरेको थियो । लगातार दुई खेलमा पराजय बेहोरेको लिभरपुल शनिबारको खेलअघि शीर्ष स्थान गुमाउने अवस्थामा छ । पौने ८ बजे सुरु हुने खेलमा आर्सनलले वेस्टहमलाई हरायो भने लिभरपुल यो खेलअघि दोस्रो स्थानमा झर्ने छ ।
आजै पौने ६ बजे लिड्स युनाइटेड र टोटनहम तथा पौने ८ बजे म्यानचेस्टर युनाइटेड र सन्डरल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । प्रिमियर लिगको प्रत्यक्ष प्रशारण कान्तिपुर म्याक्स र कान्तिपुर म्याक्सको मोबाइल एपबाट भइरहेको छ ।