काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरूद्धको तेस्रो टी-२० आईमा १३ रनको हार बेहोरेको छ ।
यससँगै पाँच खेलको सिरिजमा नेपाल २-१ ले पछि परेको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २० ओभरमा ४ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । एइना हामिजाह हासिम र वान जुलियाले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । जुलियालाई १६ रनमा आउट गर्दै कविता कुँवरले नेपाललाई ब्रेक थ्रु दिलाइन् ।
हामिजाह हासिम र मास एल्साको साझेदारी तोड्न नसक्नु नेपालका लागि महंगो सावित भयो । यी दुईले दोस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेपछि मलेसियाले प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको हो । एल्साले ३० रन बनाइन् । उनको विकेट पनि कविता कुँवरले लिएकी हुन् ।
हामीजाह हासिमले ५८ बलमा ६१ रनको योगदान गरिन् । जारी सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो । कविता जोशी र कविता कुँवरले २-२ विकेट लिए । जवाफमा नेपालले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो । चार खेलाडी रन आउट भए । नेपालले सुरुवात राम्रो गरेको थियो । तर मध्यक्रम चल्न नसक्दा नेपालको ब्याटिङ कोल्याप्स भयो ।
नेपालले पहिलो विकेट नवौं ओभरमा टिमको स्कोर ४१ रन हुँदा गुमाएको थियो । संझना खड्का १८ रनमा रन आउट भइन् । अर्की ओपनर रुवी पोदार ३१ रनमा मैदान बाहिरिन् । कविता कुँवर १५ रनमा रन आउट भएपछि नेपाल दबाबमा आयो । त्यसपछि कुनैपनि खेलाडीले लामो समय साझेदारी गर्न सकेनन् । पुजा महतो मात्र दुई रनमा आउट भइन् । रुविना क्षेत्रीले खाता खोल्न सकिनन् ।
कविता जोशी ६, यसोधा बिस्ट ७ र सुमन बिस्ट ३ रनमा रन आउट भएपछि नेपाल सिरिजमा अग्रता लिने मौका बाट चुक्यो । पहिलो खेलमा ३ रनको हार बेहोरेको नेपालले दोस्रोमा ६ विकेटको जीत हात पार्दै पुनरागमन गरेको थियो । जीतपछि पाँच खेलको सिरिजमा मलेसियाले दुई-एकको अग्रता लिएको छ । चौथो खेल मंगलबार हुनेछ ।