काठमाडौं । वेस्ट इन्डिजविरूद्धको पहिलो टेस्टको दोस्रो दिनको खेल समाप्त हुँदा भारत बलियो अवस्थामा पुगेको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दोस्रो दिनको खेल समाप्त हुँदा भारतले पहिलो इनिङ्समा ५ विकेट गुमाएर ४ सय ४८ रन बनाएको छ । यससँगै भारतले २ सय ८६ रनको अग्रता बनाएको छ । भारतका लागि केएल राहुलले १ सय रनको शतकीय इनिङ्स खेले ।
उनलाई जोमेल वारिकनले आउट गरेका थिए । ५० रन बनाएका कप्तान शुभमन गिललाई रोस्टन चेजले पवेलियन फर्काए । ध्रुव जुरेल १ सय २५ रनमा आउट भए । उनलाई खारी पियरले शाई होपका हातबाट क्याच गराएका थिए । टेस्ट क्रिकेटमा जुरेलको यो पहिलो शतक हो । रविन्द्र जडेजाले आफ्नो टेस्ट करिअरको छैटौं शतक पुरा गरे ।
भारतीय टोलीले दोस्रो दिन १२१ रनमा २ विकट गुमाएको स्कोरबाट खेल अघि बढाएको थियो । बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको क्यारेबियन टोली मात्र १ सय ६२ रनमा अलआउट भएको थियो । भारतका फास्ट बलर मोहम्मद सिराजले ४ विकेट र जसप्रीत बुमराहले ३ विकेट हात पारेका थिए ।
अव क्रीजमा अविजित रहेका रवीन्द्र जडेजा र वाशिंगटन सुन्दरले तेस्रो दिनको सुरूवात गर्ने छन् ।