
काठमाडौं । पीएम कपकै अर्को खेलमा विपिन खत्रीले उत्कृष्ट बलिङ गरेपछि गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ९ विकेटले पराजित गरेको छ ।
यस जितसँगै गण्डकीको शीर्ष छ मा रहँदै जय ट्रफीमा छनोट हुने गणितिय सम्भावना कायम रहेको छ । शीर्ष छ भित्र पर्न गण्डकीले अब अन्य टिमको नतिजामा भर पर्नुपर्ने भएको छ । वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको कर्णाली २५ ओभर २ बलमा मात्र ७२ रनमा अल आउट भयो ।
निराशाजनक प्रदर्शन गरेको कर्णालीले ३१ रन जोड्दा ७ विकेट गुमाइसकेको थियो । यसका लागि दीवान पुनले १४ र अर्जुन घर्तीले १३ रन बनाए । प्रकाश जैसी १५ रनमा अविजित रहे । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका लागी विपिन खत्रीले १० ओभरमा ४ मेडनसहित १८ रन खर्च गरेर ५ विकेट लिए ।
अपराजित पौडेलको नाममा ३ विकेट रह्याे । ७३ रनको न्यून लक्ष्य गण्डकीले १३ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो । अर्जुन कुमाल ६ रनमा विपिन शर्माको बलमा आउट भए । यससँगै जारी सिजन ९ खेलमा २ शतक र २ अर्धशतक प्रहार गरेका अर्जुन एकै संस्करणको पीएम कपमा ५ सय रन पूरा गर्ने पहिलो ब्याटर बने ।
हाल उनी ५ सय ४ रनसहित शीर्ष रनकर्ताको सूचीमा पहिलो स्थानमा छ । यसपछि सिब्रिन श्रेष्ठ र दीपक डुम्रेले गण्डकीलाई सहज जित दिलाए । सिब्रिन ४० र दीपक २२ रनमा नटआउट रहे । अन्तिम खेल खेलेको गण्डकीको यो चौथो जित हो । कर्णालीले ९ खेलमा मात्र १ जितसहित ३ अंक जोडेर नवौं स्थानमा रहँदै प्रतियोगिता समाप्त गर्यो ।