
काठमाडौं । हरेक सिजन जस्तै यसपटक पनि इन्डियन प्रिमियर लिग-आईपीएल प्रतिभा उत्पादन गर्ने मञ्च बनेको छ ।
यो सिजन पनि अनक्याप्ड भारतीय खेलाडीहरूको लहरले प्रतियोगितामा उल्लेखनीय प्रभाव पारेको छ । विश्वका ठूला स्टार खेलाडीहरूबीच निर्भिक भारतीय युवाले सबैको ध्यान तानिरहेका छन् । यसैबीच सोमबार राति सम्पन्न खेलमा दुई अनक्याप्ड खेलाडी प्रफुल हिङ्गे र साकिब हुसैन सनराइजर्स हैदराबादको जितमा नायक बने ।
जहाँ राजस्थान रोयल्सले जितको पहिलो हार बेहोर्यो । आईपीएल जस्तो विशाल मञ्चमा डेब्यू खेलमै बलरले यति प्रभाव पार्नु आफैंमा दुर्लभ घटना हो । इतिहासमा डेब्यू खेलमै चार विकेट लिने भारतीय बलरको संख्या केवल पाँच छ । सोमबार राति, त्यो सूचीमा दुई नयाँ नाम थपिएका छन् । जसले अप्रत्यासित रूपमा सनराइजर्स हैदराबादका लागि नायकको भूमिका निर्वाह गरे ।
२४ वर्षीय प्रफुल हिङ्गे, दायाँ हाते तीव्र गतिका बलर हुन् । विदर्भबाट क्रिकेट यात्रा अघि बढाएका हिङ्गेले २०२४/०२५ को रणजी ट्रफीमार्फत विदर्भको सिनियर टोलीमा स्थान बनाएका थिए । उनले अहिलेसम्म १० प्रथम श्रेणी खेल खेलिसकेका छन् । तर, टी-२० क्रिकेटमा उनको अनुभव सीमित नै थियो ।
यसअघि उनले सयद मुश्ताक अली ट्रफी २०२५/०२६ र विदर्भ प्रो टी-२० लिग मात्र खेलेका थिए । सयद मुश्ताक अली ट्रफीमा उनले अनुभवी उमेश यादवसँग नयाँ बल बाँड्दै इनिङ्सको सुरूवात गर्ने जिम्मेवारी पाएका थिए । यू-२३ स्तरमा पनि उनले आफ्नो क्षमता देखाइसकेका थिए ।
१३ वर्षको उमेरदेखि सुरू भएको उनको क्रिकेट यात्रा कुनै सरल कथा थिएन । उनले आफ्नै बुबालाई मनाएर क्रिकेट एकेडेमीसम्मको बाटो खोलेका थिए । 'हिट-द-डेक' शैलीका बलरका रूपमा परिचित हिङ्गे पछिल्लो समय ढाडको चोटसँग जुधिरहेका थिए । तर, पुनरागमनका लागि उनले एमआरएफ पेस एकेडेमीका फिजियोहरूसँग कडा मेहनत गरे ।
जहाँ उनले अस्ट्रेलियाका दिग्गज ग्लेन म्याक्ग्राथसँग काम गर्ने अवसर पाए । साथै, हैदराबादका पेस बलिङ प्रशिक्षक वरूण आरोनको मार्गदर्शन पनि उनको यात्रामा महत्वपूर्ण बन्यो । सनराइजर्स हैदराबादले उनलाई ३० लाख रूपैयाँको आधार मूल्यमा भित्र्याएको थियो ।
डेब्यू खेलमै उनले इतिहास रचे । आईपीएलमा पहिलो ओभरमै तीन विकेट लिने उनी पहिलो बलर बने । जसले उनलाई एकैपटक चर्चाको केन्द्रमा ल्यायो । यसअघि ३२ पटक पहिलो ओभरमा दुई विकेट लिइएको थियो । तर, तीन विकेटको कीर्तिमान कसैले छोएका थिएन ।
उनले दोस्रो बलमा वैभव सूर्यवंशीलाई आउट गरे, चौथो बलमा ध्रुव जुरेललाई बोल्ड गरे र अन्तिम बलमा लुहान-ड्रे प्रिटोरियसलाई क्याच गराउाँदै तेस्रो विकेट लिए । उल्लेखनीय कुरा के भने, तीनै ब्याटर शून्यमै पवेलियन फर्किएका थिए । अन्ततः उनले ३४ रन खर्चेर चार विकेट लिँदै टोलीको जितको आधार तयार पारे ।
खेलपछि उनले रोचक खुलासा गरे । गत वर्ष उनले आफूले आईपीएल डेब्यूमा चार वा पाँच विकेट लिने सपना कतै लेखेर राखेको स्मरण गरे । त्यो कल्पना, सोमबार राति वास्तविकतामा परिणत भयो । हिङ्गेसँगै नयाँ बल सम्हालेका अर्का युवा साकिब हुसैनलाई पनि कम आंकलन गर्न मिल्दैन ।
उनी ट्राभिस हेडको स्थानमा 'इम्प्याक्ट सब'का रूपमा मैदान छिरेका थिए । उनलाई पनि हैदराबादले ३० लाख रूपैयाँमै टोलीमा भित्र्याएको थियो । यसअघि कोलकाता नाइट राइडर्सले उनलाई २० लाखमा किने पनि खेल्ने अवसर भने दिएका थिएनन् ।
बिहारको गोपालगञ्जबाट आएका साकिबको कथा संघर्षले भरिएको छ । किसान परिवारमा जन्मिएका उनले सुरूवातमा भारतीय सेनामा जाने सपना देखेका थिए । तर, स्थानीय टेनिस बल क्रिकेटमा देखाएको प्रतिभाले उनलाई व्यावसायिक क्रिकेटतर्फ मोड्यो । आर्थिक कठिनाइबीच उनको यात्राले अझ भावुक मोड लिन्छ ।
उनकी आमाले पहिलो स्पाइक जुत्ता किनिदिन गहना बेच्नुपरेको थियो । २१ वर्षीय साकिबले बिहारबाट प्रथम श्रेणी र टी-२० क्रिकेट खेलेका छन् । २०२२-२३ सयद मुश्ताक अली ट्रफीमार्फत डेब्यू गर्दा उनको सुरूवात उत्साहजनक थिएन । दुई ओभरमा २७ रन खर्चिए । तर, सोही सिजनको अन्तिम खेलमा गुजरातविरुद्ध चार विकेट लिँदै उनले आफूभित्रको सम्भावना देखाए ।
त्यसपछि उनलाई चेन्नई सुपर किंग्सले नेट बलरका रूपमा बोलायो । २०२४-२५ को सयद मुश्ताक अली ट्रफीमा पनि निरन्तरता दिन संघर्ष गरे । पाँच खेलमध्ये चार खेलमा विकेट लिन सकेनन् । तर, पछिल्लो संस्करणमा पाँच विकेट लिएर उनले आफूलाई पुनः स्थापित गर्ने संकेत दिए ।
रेड-बल क्रिकेटमा पनि उनको प्रगति उल्लेखनीय छ । २०२४/०२५ रणजी ट्रफीमा पञ्जाबविरूद्ध चार विकेट लिए भने अघिल्लो वर्ष अरूणाचल प्रदेशविरूद्ध एकै खेलमा १० विकेट लिँदै ठूलो उपलब्धि हात पारे । आईपीएल डेब्यूमा पनि उनले २४ रन खर्चेर चार विकेट लिए । जुन अहिलेसम्मकै उत्कृष्ट डेब्यू बलिङ प्रदर्शनमध्ये एक हो ।
आईपीएल २०२६ सुरू हुनुअघि सनराइजर्स हैदराबादको बलिङ आक्रमणलाई कमजोर मानिएको थियो । त्यसमा पनि प्याट कमिन्सको उपलब्धता अनिश्चित हुँदा टोली थप दबाबमा पर्ने आकलन गरिएको थियो । तर, हिङ्गे र साकिबको डेब्यू प्रदर्शनले ती सबै अनुमान गलत सावित गरिदियो ।
यति मात्र होइन यस सिजन वैभव सूर्यवंशी, समीर रिज्वी, अंगकृष रघुवंशी, प्रिन्स यादव र हर्ष दुबे जस्ता युवा अनक्याप्ड खेलाडीले पनि आफ्नो-आफ्नो टोलीका लागि प्रभावशाली प्रदर्शन गरिरहेका छन् ।