काठमाडौं । स्पेन र बार्सिलोनाकी मिडफिल्डर आइताना बोनमाटीले तीन पटक बालोन दो अवार्ड जित्ने पहिलो महिला बनेर कीर्तिमान बनाइन् ।
उनले सेप्टेम्बर २३ मा आफ्ना साथीहरूमाझ यो अवार्ड प्राप्त गर्दा सारा विश्वले हेरिरहेको थियो । आइतानाले आफ्नै टिममेट मारियाना कालडेन्टलाई पछि पारेर अवार्ड आफ्नो बनाएकी हुन् । तेस्रो बालुन दो अवार्ड जितेकी बोनमाटी कस्तो खेलाडी हुन त ?
आइताना बोनमाटीको जिवनमा जितभन्दा पनि कमब्याक अर्थपूर्ण छ । अस्पतालको बेडबाट उठेर यो वर्ष यूरो कप खेलेकी उनी लगातार तेस्रो बालुन दो अवार्ड जित्ने विश्वकै पहिलो महिला खेलाडी बनेकी छन् । यो वर्षको महिला युरो कप सुरू हुनुभन्दा एक दिन अघि उनी अस्पतालमा मेनिन्जाइटिसविरूद्ध लडिरहेकी थिइन् ।
उनको सहभागितामा नै अन्योलता पैदा भएको थियो । तर त्यही हप्तामा उनी अस्पतालको बेडबाट उडेर युरोको सेमिफाइनल खेल्न पुगेकी थिइन् । त्यहाँ उनले जर्मनीविरूद्ध गोलसमेत गरिन् । त्यसपछि उनको गेमचेन्जर खेलाडीको पहिचान थप मजबुत बनेको थियो ।
दुई वर्षअघि विश्वविजेता बने पनि अनैतिक किसको स्क्यान्डलले स्पेनी महिला टिम टुटेको थियो । धेरै खेलाडीले राष्ट्रिय टिमको क्याम्प नै छोड्नुपरेको थियो । त्यही टोलीको हिस्सा बनेकी बोनमाटीको खेलप्रतिको लगाव कस्तो छ, त्यसलाई पनि यो अवार्डले प्रमाणित गरेको छ ।
बोनमाटीले, एलेसिया रूसो, चोय केली, एलेक्सा पुटियासजस्ता विश्वविख्यात र उत्कृष्ट खेलाडीलाई पछि पारेर अवार्ड जितेकी हुन् । यससँगै बार्सिलोनाका खेलाडीले पछिल्लो पाँच वर्षमा महिलातर्फका लगातार बालुन दो अवार्ड जितेर रोचक इतिहास बनाएका छन् ।
बार्सिलोनका लिजेन्ड आन्द्रे इनिस्टाबाट अवार्ड ग्रहण गर्दै बोनमाटीले आफूले तेस्रो पटक पनि अवार्ड जित्दा विश्वास नै गर्न नसकेको बताइन् । जब मैदानमा हुन्छिन, बोनमाटी एयर बलको नियन्त्रण र भलि प्रहारमा समेत कम बन्दिनन् । उनी प्राकृतिक रूपमा नै मिडफिल्डमा खेल्न उत्कृष्ट खेलाडी हुन् ।
बार्सिलोनामा १४ नम्बर र स्पेनको टिममा ६ नम्बरको जर्सी लागाउने बोनमाटी विपक्षी डिफेन्डरले घेरिएको अवस्थाबाटसमेत पास निकाल्न माहिर छिन् । अफेन्सिभ क्षेत्रमा मुस्किलको अवस्थामा पनि उनको अर्जुन दृष्टि सबैले तारिफ गर्ने गरेका छन् । उनले दायाँ, बायाँ, २५ यार्ड बक्सभित्र वा बाहिरबाट सुन्दर गोल गरेकी छन् ।
दुई वर्षअघि स्पेनले विश्वकप जितेको वर्ष बोनबाटीले क्लबबाट पनि घरेलु ट्रिबल जितेकी थिइन् । उनको टिम च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । गत सिजन क्लबले ठूलो उपाधि नजिते पनि बोनमाटी व्यक्तिगत रूपमा सफल रहिन् । उनले बार्सिलोनका लागि १२ स्कोर गरिन् । उनका नाममा ६ पास रहे ।
मैदानको बीचमा रहेर दुवै खुट्टाले विपक्षीलाई छक्क्याउने उनको कला विशेष छ । उनको तिब्रता, हेडको सटिक प्रहार, पासिङ स्किल मनमोहक छन् । विपक्षी खेलाडीले समेत उनको क्षमताको प्रशंसा गर्छन् । यस वर्ष च्याम्पियन्स लिगको फाइनलमा आर्सनलसँग पराजित भए पनि उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । च्याम्पियन्स लिगका ११ खेलमा उनले नौ गोल गरिन् ।
बाल्यकालमा बोनमाटी बास्केटबलमा रूची राख्थिन । विद्यालयबाट उनले फुटबल खेल्न सुरू गरिन् । उनमा आमाबुवा क्याटलोन भाषा र साहित्यका शिक्षक हुन् । तर उनको लगाब र प्रतिस्पर्धात्मक क्षमताको आकलन गरेर बुवाले बोनमाटी १३ वर्षकी हुँदा बार्सिलोनामा एकेडेमीमा भर्ना गरिदिए ।
सन् २०१६ मा उनले बार्सिलोनमा डेब्यू गर्ने अवसर पाइन् । सुरुमा सब्सटिच्युट खेलाडी मात्रै रहे पनि दोस्रो सिजनबाट उनले पहिलो रोजाईमा खेल्न थालेकी हुन् । उनले बार्सिलोनालाई सबै प्रतियोगिताको उपाधि दिलाउन सहयोग गरेकी छन् ।
सन् २०१९ बाट स्पेनको राष्ट्रिय टिममा डेब्यू गरेकी उनले स्पेनलाई २०२३ को विश्वकप ट्रफी दिलाएकी हुन् । अहिले उनको कुल सम्पत्ति ७१ करोड रूपैयाँभन्दा धेरै छ ।