काठमाडौं । न्यायमा नागरिकको पहुँच बढाउन सरकारले पालिकास्तरीय न्यायिक समितिको व्यवस्था गरेको छ ।
गाउँघरमा हुने झैझगडाका सामान्य मुद्दाहरू यस्तो समितिले निरूपण गरेर समाजमा मिलाप कायम राख्न धेरै सहयोग गरेको छ । तर मधेश प्रदेशमा यस्ता विवादको न्यायिक समितिबाट समाधान खोज्नुको साटो प्रहरी र अदालतमा जाने प्रवृत्ति छ । यस्तै एउटा घटनामा आवेगमा आएर लिएको निर्णयको कहर धनुषाको हंसपुरका एक घर डोम र ३ घर धनिकार परिवारले भोगिरहेका छन् । निर्दोष सावित भएको दुई वर्ष पुग्ने लाग्दासमेत उनीहरूको धरौटी फिर्ता हुनसकेको छैन।
मधेशमा विपन्न तथा पिछडिएको जाति-समुदायमा पर्छन् डोम र धनिकार । यी समुदाय अझै पनि उचित शिक्षा, स्वास्थ्य उपचार सेवा, रोजगारीको अवसर र राजनीतिक पहुँचभन्दा निकै टाढा छन् । धनुषाको हंसपुर नगरपालिका भतहीमा रहेका ४ सय घरपरिवारमध्ये ८ घर डोम र ६ घर धनिकार पुस्तौंदेखि बस्दैआएका छन् । २०७९ साल साउन ३१ गते राति आफ्नै समुदायभित्र भएको झै-झगडा र गाली गलौजको मुद्दाका कारण तीन वर्षदेखि अदालत धाइरहेका छन् ।
तर घटना भएको ६ महिनापछि कुटपिट गरि बुहारीको गर्भ तुहाइदिएको भन्दै जगतारन देवी डोमिनले भतही गाँउकै चार जनामाथि जिल्ला अदालत धनुषामा मुद्दा दर्ता गराउनुभएको थियो । समुदायभित्र भएको भनाभनको सामान्य विवादलाई गर्भपतनजस्तो गम्भीर अपराधसँग जोडेर मुद्दा मामिलामा जाँदा राजेश राउत धनिकारसँगै भरत राउत धनिकार, उपेन्द्र राउत धनिकार र प्रदीप मल्लिककी श्रीमती र आमा झन्डै तीन वर्षदेखि जिल्ला अदालतको चक्कर काटिरहेका छन् ।
लामो समयको अदालती बहस, छलफल र प्रहरी हिरासतको प्रक्रियापछि जिल्ला अदालत धनुषाका तत्कालीन न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले निवेदकको दाबी नपुगेको भन्दै २०८० माघ २३ गते चारै जनालाई निर्दोष सावित गरि फैसला सुनायो । त्यसको एक वर्षपछि उच्च अदालत जनकपुरले पनि जिल्लाकै फैसलालाई सदर गरिदियो । तर, सम्पत्तिको नाममा ससाना छाप्रो मात्र रहेको आरोपी चारै जनाले धरौटी बुझाएके रकम अहिलेसम्म अदालतबाट फिर्ता पाएका छैनन् ।
जिल्ला अदालतको आदेशबमोजिम भरत र प्रदीपले साढे एक एक लाख, उपेन्द्रले पचहत्तर हजार र राजेशले पचास हजार धरौटी बुझाउनुभएको थियो । स्रेश्तेदार दीपक पोखरेले यही मंसिरभित्र चारै जनाको धरौटी फिर्ता हुने बताए पनि बाँसका सामग्री बनाएर परिवारको गुजारा चलाउदै आएका तीन जनाले साहुसँग ऋण काढेर बुझाएको उक्त रकमको मूल्य ठूलो छ ।
प्रदीपले त पुस्तौंदेखि बाँसका सामग्री बेच्दै आएको पाँच लाखभन्दा बढीको गेरुवाही गाउँ साढे बाध्य भएर आफ्ना फूपाजुलाई एक लाखमै बेचर धरौटी बुझाउनुभएको थियो । अदालतको तारेखको चिन्तासँग रोगले गलाउँदा उपचार अभावमा प्रदीप मल्लिकको २०८१ भदौमा मृत्यु भइसकेको छ । उनीहरूको पीडाको बारेमा बोलिदिने कोही छैन । न उनीहरूलाई धरौटी फिर्ता पाउने प्रकिया नै थाहाँ छ ।
भतही गाँउका यी समुदायको पीडा देखेर मैथिली भाषाको निकै चर्चित डोम कछ लोक गीत चरितार्थ भएकोजस्तो लाग्छ ।