एनपीएल भाेलि दुई खेल हुने

मंसिर १, २०८२ |खेल ब्युरो
एनपीएल भाेलि दुई खेल हुने

काठमाडौं । एनपीएलमा मंगलबार बिहान पौने १२ बजे हुने खेलमा चितवन राइनोजले कर्णाली याक्सको सामना गर्ने तालिका छ। 

यी दुवै टोली विजयी सुरूआत गर्ने योजनामा रहनेछन्। कर्णाली र चितवन दुवै टोली गत सिजन प्ले अफमा पुगेका थिए। यो सिजन खेलाडी भित्र्याउनमा आक्रामक नदेखिएको भए पनि कर्णालीसँग विलियम बोसिस्टो, गुल्सन झाजस्ता राम्रा खेलाडी छन्। पवन सर्राफ, सोमपाल कामीलगायत खेलाडीले कर्णालीलाई थप बलियो बनाएको छ। 

राम्रो प्रदर्शन गर्न सक्ने म्याक्स ओ डाउड, मार्क वाटजस्ता खेलाडीको अनुबन्धले कर्णालीले गत सिजनको प्रदर्शनलाई निरन्तरता दिने लक्ष्य राखेको छ। मंगलबार नै हुने अर्को खेलमा उत्कृष्ट खेलाडी अनुबन्ध गरेको विराटनगरले पोखरा एभेन्जर्सको सामना गर्नेछ। यो खेल भने साँझ फ्लडलाइटमा आयोजना हुनेछ। 

मर्चेन्ट डि ल्याङ्गे, जर्ज मान्जी तथा साम हेजलेट, मार्टिन गप्टिलको उपस्थितिले विराटनगरलाई बलियो बनाएको छ। प्रतिस जिसी, सूर्य तामाङ, कप्तान सन्दीप लामिछानेको उपस्थितिलाई प्रशिक्षक पुबुदु दाशानायके र धम्मीका प्रसादको रणनीतिले परिपक्व बनाएको छ। 

त्यसैगरी कुशल भुर्तेलको टोली पोखरामा एडम रसिङ्टन, रायमन रेइफर, आकाश चन्द, अर्जुन कुमालजस्ता उत्कृष्ट खेलाडी छन्। सागर ढकालको उपस्थितिले पोखरालाई भेरिएसनले भरिएका खेलाडीको टिम बनाएको छ। पोखरा र विराटनगरको खेल उच्च स्कोरको हुने अनुमान गरिएको छ।