
काठमाडौं । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग-एनपीएलमा चौथो अर्धशतक बनाउने मार्टिन गप्टिल र पाँचौँ अर्धशतक हिर्काउने खेलाडी लोकेश बम भएका छन् ।
यी दुवै खेलाडी विराटनगर किङ्सका हुन् । मार्टिन र लोकेशले मंगलबार भएको पोखरा एभेन्जर्सविरूद्धको खेलमा अर्धशतक जोडे । मार्टिनले २८ बलमा अर्धशतक पूरा गरे । ३५ बल खेलेका मार्टिन ६१ रनमा आउट भए । यस्तै लोकेश बमले ३७ रनमा अर्धशतक पुर्याए । ४७ बलमा ७२ रन बनाएर लोकेश पभेलियन फर्किए । लोकेश र मार्टिनले १४६ रनको ओपनिङ साझेदारीसमेत गरे । यसअघि तेस्रो अर्धशतक हिर्काउने खेलाडीमा रबि बोपरा बनेका थिए ।
चितवन राइनोजका अलराउन्डरसमेत रहेका रबिले मंगलबार भएको पहिलो खेलमा कर्णाली याक्सविरूद्ध ३५ बलमा अर्धशतक प्रहार गरेका हुन् । यसअगाडि पहिलो खेलको पहिलो इनिङमा कर्णाली याक्सका ओपनर ब्याटर प्रियान्क पन्चालले पनि अर्धशतक हिर्काए । उनी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनेका थिए ।
पहिलो अर्धशतक भने जनकपुर बोल्ट्सका ब्याट्सम्यान आशिफ शेखको नाममा छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगिता मङ्सिर २७ मा समापन हुनेछ ।