
काठमाडौं । नेपाली राष्ट्रिय पुरूष फुटबल टिमले एएफसी एसियन कप छनाेट खेलमा मंगलबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
नेपालको यो होम गेम हो । तर क्वालाम्पुरमा खेल्दैछ । बुकित जालिल नेशनल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरू हुनेछ । छनाेटबाट बाहिरी सकेको नेपाल प्रतिष्ठाका लागि खेल्दैछ । जारी छनाेटमा नेपाल अझै पहिलो जितको खोजीमा छ ।
पहिलो लेगमा मलेसियाले नेपाल माथि २-० गोलको जित हात पारेको थियो । चार खेलबाट अंकको खाता खोल्न नसकेको नेपाल समुह एफको पुच्छारमा छ । मलेसिया भने लगातार पाँचौ जित हात पार्ने लक्ष्यमा छ । तालिकाको शीर्ष स्थानमा रहेको उसको चार खेलबाट १२ अंक छ ।
नेपालले ४ खेलमा कुल ८ गोल खाँदा दुई गोल गरेको छ । लाओससँग मनिस डांगीले पेनाल्टीमा र भियतनामसँग सनिस श्रेष्ठले गोल गरेका हुन् । नेपालले यो खेल अघि बंगलादेशसँग ढाकामा मैत्रीपुर्ण खेल खेलेको थियो । सो खेल २-२ गोलको बराबरीमा सकियो ।
नेपालका लागि दुवै गोल डिफेन्डर रोहित चन्द र अनन्त तामाङले गरेका थिए । स्ट्राइकर अन्जन विष्टका लागि पुरूषतर्फ नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान बनाउने अवसर छ । उनले लामो समय देखि गोलको खेडरी तोड्न सकेका छैनन् । हरि खड्का र निराजन रायमाझीको नाममा समान १३-१३ गोलको किर्तिमान छ । अहिले टिमको प्रशिक्षकमा पनि हरि खड्कानै छन् ।