
काठमाडौं । दृष्टिविहीन महिला क्रिकेटका लागि पहिलो महिला टी-२० विश्वकपमा नेपालले पाकिस्तानलाई १० विकेटले हराएको छ।
भारतको बैंगलुरूमा जारी विश्वकपमा नेपालले एक सय ७१ रनको लक्ष्य १३ ओभरमा पुरा गरेर १० विकेटको जित हासिल गरेको हो। पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७० रन बनाएको थियो। पाकिस्तानका लागि बि-थ्रि श्रेणीकी मेरिन अलीले ७७ रनको योगदान गरिन्।
त्यसैगरी मरयम जहाँगिरले १७ रन जोड्न सकिन्। बाँकी पाकिस्तानी ब्याटर सस्तैमा समेटिएका थिए। खेलमा नेपालले ३६ रन अतिरिक्त प्रदान गरेपछि एक सय ७१ रनको लक्ष्य पाएको हो। नेपालका लागि सुस्मा तामाङले मात्रै एक विकेट लिन सकिन्।
जवाफमा नेपालले कुनै विकेट नगुमाइ १३ ओभरमा एक सय ७३ रन बनाउँदै लक्ष्य हाासिल गरेको हो। यसक्रममा कप्तान विनिता पुनले ५४ बलमा एक सय ७ रन प्रहार गरेर शतकीय पारी खेलिन्। उनले १४ चौका प्रहार गरेकी थिइन्। अर्को एन्डबाट उनलाई साथ दिएकी मनकेशी चौधरी ४३ रन जोडेकी थिइन्। पाकिस्तानका कुनै बलरले नेपालको विकेट पतन गराउन सकेनन्।
विश्वकपका पाँचमध्ये चार खेल जितेको नेपाल लिग चरणको दोस्रो स्थानमा छ। नेपाल भारतभन्दा २ अंकले मात्रै पछि छ। नेपालले यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।