
काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले पाल्पाका २६ विद्यालयमा 'फिफा फुटबल फर स्कुल्स' कार्यक्रम सुरु गरेको छ ।
पाल्पाका २६ विद्यालयमा पहिलो चरणमा १५ वटाका दरले फिफा बल वितरण गरिएको पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणय वीरजंग राणाले बताउनुभयो । रामपुर नगरपालिकाका-७, माथागढी गाउँपालिकाका-४ र तानसेन नगरपालिकाका-१५ वटा विद्यालयमा फिफा बल वितरण गरिएको छ ।
फुटबललाई शिक्षा प्रणालीसँग जोड्ने पहलस्वरूप यो कार्यक्रम सुरु गरिएको अखिल नेपाल फुटबल संघका केन्द्रीय अध्यक्ष पंकजविक्रम नेम्वाङ्ले बताउनुभयो । कार्यक्रमले खेलाडी उत्पादनमा मद्दत पुग्ने विश्वास लिइएको छ । स्कूलहरूका लागि फुटबल वितरण कार्यक्रम विश्वका १३७ राष्ट्रमा सञ्चालन भइसकेको र नेपालमा पनि ७७ वटै जिल्लामा कार्यक्रम विस्तार भइरहेको अध्यक्ष नेम्वाङ्ले बताउनुभयो ।