
काठमाडौं । नेपाल प्रिमियर लिग-एनपीएलमा प्रियांक पञ्चालको ९० रनका बाबजुद कर्णाली याक्सलाई चितनव राइनोजले हराएको छ।
टियू क्रिकेट स्टेडियममा मंगलबार दिउँसोको खेलमा चितवनले कर्णालीलाई चार विकेटले पराजित गरेको हो। रबि वोपारा र सेफ जैबले ५२ रनको साझेदारी गरेर चितवनलाई पुनरागमन गराएका थिए। चितवनले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ६६ रन बनाएको थियो।
कर्णालीको ओपनिङमा आएका प्रियांक पञ्चालले नेदरल्यान्ड्सका म्याक्स ओ डाउडसँग ६१ रनको साझेदारी गरे। सेफ जैबले २० रन बनाएको अवस्थामा डाउडलाई आउट गरेपछि कर्णालीले ८ ओभर पाँच बलमा पहिलो विकेट गुमायो। प्रियांकले ४८ बलमा ६ छक्का र ७ चौकासहित आक्रामक ब्याटिङ गर्दै ९० रन जोडेका थिए। १५ ओभरमा नै एक सय २४ रन बनाएपछि कर्णाली सहज अवस्थामा पुगेको थियो।
उनलाई रवी वोपाराले शतक बनाउन नपाउँदै पवेलियन फर्काइदिए। अन्तिममा पवन सर्राफले १६ बलमा २७ रन जोडेर कर्णालीलाई प्रतिस्पर्धात्मक अबस्थामा पुर्याएका हुन्। रबीले अन्तिममा तीन छक्कासमेत प्रहार गरेका थिए। चितवनका लागि सेफ जैबले एक विकेट लिए भने रवी र सोहेल तनवीरले एक-एक विकेट बाँडेका थिए। खेलमा जैब सबैभन्दा किफायति रहेका थिए।
जवाफमा चितवनले १९ ओभर एक बलमा ६ विकेट क्षतिमा एक सय ७१ रन बनाएर लक्ष्य पुरा गरेको हो। डेबिड मलान ६ रन र देव खनाल २ रनमा आउट भएपछि कमजोर सुरूआत गर्न पुगेको चितवनका लागि दिपक बोहरा सम्हालिएर खेलेका थिए। उनले ३६ बलमा ४२ रन बनाए।
चौथो नम्बरका रबि मैदानमा आउँदा चितवनले २९ रन मात्रै बनाएको थियो। बेपाराले ३६ बलमा ५२ रनको बनाएर अर्धशतकी पारी खेले। कप्तान कुशल मल्ल भने २० रनमा आउट भएका थिए। चार विकेट गुमाउँदा एक सय एक रनमा रहेको चितवनका लागि जैब र वाेपाराले ५२ रनको साझेदारी गरेर टिमलाई सहज अवस्थामा पुर्याएका थिए।
जैब १६ बलमा ३८ रन बनाएर आउट भए पनि टिमलाई जिवनदान दिन ठूलो सहयोग गरे। अन्तिममा अर्जुन साउादले छक्का प्रहार गरेर चितवनलाई जित दिलाएका हुन्। कर्णालीका सोमपालले २ विकेट तथा युनिस सिंह, मार्क वाट र युवराज खत्रीले एक एक विकेट लिए पनि चितवनको जितलाई रोक्न सकेनन्।
गत वर्षको एनपीएलको एलिमिनेटरमा पनि यी दुई टोली भेट भएका थिए। सो खेलमा चितवनलाई कर्णालीले २१ रनले हराएको थियो। लिग चरणमा पनि कर्णालीले चितवनलाई ६ विकेटले हराएको थियो।