काठमाडौं । अमेरिकी खेलाडी कोको गौफले जर्मन खेलाडी एभा लिसलाई हराउँदै चाइना ओपन टेनिसको सेमिफाइनलमा स्थान बनाएकी छिन्।
उनले लिसलाई ६-३, ६-४ को सोझो सेटमा पराजित गरिन्। यो वर्ष जुनमा भएको फ्रेन्च ओपनपछि गौफको यो पहिलो सेमिफाइनल हो। उनले अघिल्ला दुई खेल तीन सेटमा जितेकी थिइन्, तर यो खेल भने उनले २ सेटमै आफ्नो पक्षमा पार्न सफल भइन् ।
खेलको सुरूमा दुवै खेलाडीले पाँच पटकसम्म सर्भ ब्रेक गरेपछि, गौफले अन्ततः लिसको ब्याकह्यान्ड बल आउट भएपछि पहिलो सेट आफ्नो पक्षमा ल्याइन्। दोस्रो सेटमा गौफको सर्भ राम्रो देखियो र उनले सजिलै केही गेम जितिन्।
अन्त्यतिर केही डबल फल्ट गरेपछि लिस खेलमा फर्किइन्। तर अन्तिममा ५-४ को स्थितिमा गौफले आफ्नो सर्भिस गेम जित्दै खेल जितिन्। अब सेमिफाइनलमा गौफ आफ्नै देशकी खेलाडी अमान्डा एनिसिमोवासँग खेल्नेछिन्।