काठमाडौं । मलेसियामा जारी पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल महिला क्रिकेट टोली तीन रनले पराजित भएको छ।
बायुमास ओभल मैदानमा भएको खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ५ विकेटको क्षतिमा १०५ रनको लक्ष्य प्रस्तुत गर्यो। जवाफी इनिङमा नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो।
नेपाललाई अन्तिम ओभरमा ७ रन आवश्यक थियो, तर टोलीले त्यतिबेला ३ रन मात्रै बनाउन सक्यो। नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन्। सम्झना खड्काले १६ बलमा १८ रन जोडिन् भने कविता जोशीले १३ रनको योगदान दिइन्। बलिङतर्फ मलेसियाका नुर डानियाले प्रभावशाली प्रदर्शन गर्दै ३ विकेट लिइन्।
यसअघि मलेसियाको इनिङमा कप्तान विनिफ्रेड डुराइसिङमले २७ रन बनाउँदै टोलीलाई सशक्त सुरूवात दिलाइन्। ओपनर ऐना हामिजाह हाशिमले २६ रन र मास एलिसाले २५ रनको योगदान दिइन्। नेपालकी बलर सुमन विष्टले ४ ओभरमा २ विकेट लिन सफल भइन्। कप्तान रूबिना क्षेत्रीले १ विकेट हात पारिन्, भने ईन्दु वर्माले दुई खेलाडीलाई रनआउट गरिन्।
यो सिरिज आईसीसी महिला टी-२० विश्वकप छनोटको तयारीस्वरूप खेलिएको हो। सिरिजमा मलेसियाले १-० को अग्रता लिएको छ।