काठमाडौं । नेपालले युनिटी कपअन्तर्गत ३ खेलको टी-२० आई सिरिजमा वेस्ट इन्डिजलाई २-१ ले हराउँदै इतिहासमै पहिलोपटक टेस्ट राष्ट्रविरूद्ध टी-२० आई सिरिज जित्न सफल भयो ।
लगातार दुई खेलमा सानदार प्रदर्शन गर्दै नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा क्यारेवियन टोलीलाई दबाबमा पारेको थियो । तेस्रो तथा अन्तिम खेलमा अपेक्षित प्रदर्शन गर्न चुके पनि सिरिज कब्जाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान र आत्मविश्वास दिलाएको छ । अब यो लयलाई टी-२० विश्वकप छनोटमा कायम राख्ने चुनौती नेपाली टोलीमा छ ।
नेपालले युनिटी कपअन्तर्गत वेस्ट इन्डिजविरूद्धको तीन खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज २-१ ले जित्दै पहिलोपटक टेस्ट राष्ट्रलाई हराउने गर्विलो इतिहास रच्यो । सुरूवाती २ खेल जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेको नेपालले तेस्रो तथा अन्तिम खेलमा अपेक्षित प्रदर्शन गर्न सकेन । तर, २ पटकको विश्व विजेतालाई सिरिजमा पराजित गर्नु नेपाली क्रिकेटका लागि अहिलेसम्मकै ठूलो सफलता मान्न सकिन्छ ।
विश्वकप छनोट अघि नेपालले गरेको सनसनीपूर्ण प्रदर्शनले क्रिकेट टिमका खेलाडीहरूमा आत्मविश्वास बढेको छ । सिरिजको पहिलो खेलमै नेपालले १९ रनले जित निकाल्दा संसारभरका क्रिकेटप्रेमी अचम्मित भएका थिए । १४८ रनको लक्ष्य रक्षा गर्दा नेपालले गरेको फिल्डिङ, रन आउट र कठिन क्याचहरूले टिमलाई आत्मबल दिएको थियो ।
अन्तिम बलमा कुशल भुर्तेलले लिएको अविश्वसनीय क्याचले जितलाई झन् ऐतिहासिक बनायो । पहिलो जितपछि प्रशिक्षक स्टुअर्ट लले फिल्डिङमा देखाएको समर्पण नै जितको आधार भएको बताएका थिए । दोस्रो खेलमा नेपाल झन सशक्त देखियो ।
आसीफ शेखले अविजित ६८ रन र सन्दीप जोराले ६३ बनाउँदा यो जोडीले १ सय रनको शतकीय साझेदारी गरेको थियो । नेपालले ६ विकेट गुमाउँदै १७३ रनको उत्कृष्ट स्कोर बनायो । जवाफी ब्याटिङमा वेस्ट इन्डिज ८३ रनमै समेटिँदा स्ट्यान्डभरि नेपाली झण्डा र नाराले माहोल निकै रोमाञ्चक बनेको थियो ।
पुनरागमन खेलमा मोहम्मद आदिल आलमले ४ विकेट र कुशल भुर्तेलले ३ विकेट लिए । यस पटक नेपालको उत्कृष्ट फिल्डिङले क्यारेवियन ब्याट्सम्यानलाई निराश बनायो । र, एसोसियट राष्ट्रले टेस्ट टोलीलाई दिएको यो सबैभन्दा ठूलो हार पनि थियो ।
तेस्रो खेलमा नेपाल १० विकेटले पराजित भए पनि श्रृंखला भने आफ्नो पोल्टामा राख्न सफल भयो । कुशल भुर्तेल प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । ब्याटबाट खास योगदान दिन नसके पनि उनले जादुमयी लेग स्पिन गर्दै ५ विकेट लिएका थिए । उनको ब्याटबाट सिरिजभर ४७ रनमात्र बन्न सक्यो ।
सिरिजपछि कप्तान रोहित पौडेलले सिरिजले टिमलाई ठूलो आत्मविश्वास दिएको बताए । विश्वकप छनोटमा यसै लयलाई अघि बढाउने उनको प्रतिबद्धता थियो । उनले जितलाई हालै भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका शहिदहरूलाई समर्पण गरे ।
स्टुअर्ट लको टोलीले ब्याटिङ, बलिङ र फिल्डिङमा क्यारेवियन टोलीलाई माथ दिए पनि टिमको ओपनिङ भने राम्रो हुन नकेन । सुरूवाती २ खेलमै सिरिज जिते पनि पावर प्लेमा दुबै खेलमा २ विकट गुमाइसकेका कारण नेपाल दबाबमा देखिन्थ्यो । विश्वकप छनोट अघि नेपालले शीर्ष क्रममा देखिएको ब्याटिङ समस्या समाधान गर्नु पर्छ ।
'युनिटी कप' को उपाधि नेपाली क्रिकेट इतिहासमा सुनौलो अक्षरमा कोरिएको छ । यस ऐतिहासिक सिरिजले नेपाललाई नयाँ अवसरको ढोका खोलेको छ । घरेलु मैदानको विकास, युवा खेलाडी उत्पादन र लिग व्यवस्थापनसागै यस्ता अन्तर्राष्ट्रिय सफलताहरूले नेपाललाई विश्व क्रिकेटको नक्सामा थप मजबुत बनाउनेछन् ।
हालका लागि टोलीको ध्यान एक सातापछि ओमानमा सुरू हुने आईसीसी पुरूष टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिकको संयुक्त छनोटमा केन्द्रित हुनेछ ।