काठमाडौं । विश्वमा यस्ता थोरै फुटबलर छन्, जसको दायाँ र बायाँ खुट्टा समान रुपमा चल्छन् ।
दायाँ र वायाँ विङमा मात्रै होइन अट्याकिङ मिडफिल्डमा रहेर दोस्रो स्ट्राइकरका रुपमा चमत्कार गर्न सक्छन् । ओसमान डेम्बेले तीनै खेलाडी हुन् जसले गएराति विश्वविख्यात बलुन दो अवार्ड जितेका छन् । बलुन दो अवार्ड उनको कला, कौशलको प्रतीक मात्रै हो । उनलाई चिन्नेहरुले त सन् २०१६ यता नै उनी यो अवार्डको हकदार हुन् भन्ने थाहा पाइसकेका थिए ।
गत सिजन ओउसमान डेम्बेलेले पीएसजीका लागि ३५ गोल गरे, १४ गोलका लागि एसिस्ट गरे । पीएसजीले लिग वान, फ्रेन्च कप र च्याम्पियन्स लिग जितेर ट्रिबल गर्दा उनको भूमिका महत्वपूर्ण रहृयो । उनले टिमलाई फिफा क्लब विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
उसो त पीएसजीले च्याम्पियन्स लिग जित्ने के नै गरेन ? नेइमार, लियोनेल मेस्सी र किलियन एम्बाप्पेले दिलाउन नसकेको उपाधि उनले पीएसजीलाई दिलाए । स्थापनाको ५२ वर्षपछि पीएसजीलाई डेम्बेलेले युरोपको च्याम्पियन बनाए । विश्वकपको फाइनलमा पुर्याए ।
सन् २०२१ मा उनी बार्सिलोनामा रहँदा प्रशिक्षक जाभीले भनेका थिए- सही तरीकाले प्रयोग गरिएमा डेम्बेले विश्वकै उत्कृष्ट खेलाडी हुन् । यो कुरालाई अर्का स्पेनी प्रशिक्षक लुइस एनरिकेले प्रमाणित गरिदिए ।
उनको क्रस, कटब्याक, ड्रिब्लिङ, हेडको सटिक प्रहार र नटमेग गर्ने क्षमता पहिचानमा एनरिके कही चुकेनन् । उनले धेरै गोल अट्याकिङ लाइनअपको दायाँबाट गरेका छन् । तर वायाँबाट पनि उनका गोल उत्तिकै सुन्दर देखिन्छन् । उनले जति सरल तरिकाले खेल प्रस्तुत् गर्छन, हेर्दा न झन्झट लाग्छ न दिक्क । बरु हेरिरहुँ जस्तो गरी उनले बललाई नियन्त्रणमा लिन्छन्, छलाउँछन अनि गोल पनि गर्छन् । यस्तो कला फुटबलमा कमै देख्न पाइन्छ ।
उनले यो वर्ष मोहम्मद सलाह, एम्बाप्पे, लामिन यामाललगायतलाई पछि पारेर बलुन दो अवार्ड जितेका हुन् । सलाहले उनले भन्दा धेरै असिस्ट गरेका छन, एम्बाप्पेले उनले भन्दा धेरै गोल गरेका छन् । तर टिमलाई आवश्यक परेको बेला डेम्बेलेले जसरी खेल देखाए त्यो कसैले देखाउन सकेन । उनले युवा सेन्सेसनल यामाललाई पछि पारेर अवार्ड जिते ।
अवार्ड समाउँदै गर्दा उनका आाखा थामिएनन् । निःस्वार्थ समर्पणका लागि परिवारलाई धन्यवाद भने । सायद उनले पीडाका ती ७ सय ८४ दिन सम्झिएको हुनपर्छ । उनले बार्सिलोनामा रहँदा १४ मसलमा चोट बोकेर दुई वर्ष मैदान बाहिर रहे ।
सन् २०१७ मा १ सय ३५ मिलियन पाउन्डमा किनेको बार्सिलोनाले ६ वर्षपछि ४३ मिलियनमा बेचेको थियो । त्यतिबेला पीएसजीमा एम्बाप्पेको दबदबा थियो । यता डेम्बेलेको व्यवहार र व्यवसायिकतामा साधै प्रश्न उठिरहेको अवस्था थियो ।
उनी समयको ख्याल नराख्ने भएकाले पटक-पटक जरिवाना तिर्नुपर्यो । जब एम्बाप्पेले पीएसजी छोडे डेम्बेले एक कदम अघि बढेर टिमको अग्रपंक्तिलाई नेतृत्व दिए । रेनिस र बार्सिलोनामा सिकेको कौशलले उनलाई विस्फोटक अट्याकर बनाएको थियो ।
सन् २०२१ मा मोरक्कन प्रेमिका रिमासाग विवाह गरेपछि र सन्तान प्राप्तिपछि उनले आफू परिवर्तन भएको बताएका छन् । पछिल्ला वर्षहरुमा स्वस्थ्यकर खानेकुरा र स्वस्थ जीवनशैली अपनाउन थालेपछि आफूमा परिवर्तन आएको पनि उनले बताउँदै आएका छन् ।