साफ अन्डर-१७ च्याम्पियनसिपका लागि नेपाली टोली तयार

भाद्र २९, २०८२ |खेल ब्युरो
साफ अन्डर-१७ च्याम्पियनसिपका लागि नेपाली टोली तयार

काठमाडौं । श्रीलंकाको कोलम्बोमा साेमाबारदेखि सुरु हुने साफ अन्डर-१७ च्याम्पियनसिपका लागि नेपाली टोली तयार भएको छ । 

प्रशिक्षक सञ्जित सिंहले नेपाली टोली शारीरिक र मानसिक रुपमा तयार भएको बताएका छन् । प्रतियोगिता सुरु हुन एक दिनअघि आज भएको प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक सिंहले नेपाली टोली प्रतियोगिताका लागि तयार रहेको बताएका हुन् ।

डिफेन्डर प्रशान्त मोक्तानको कप्तानीमा श्रीलंका भ्रमणमा रहेको टोलीले उपाधि जित्ने लक्ष्य राखेको छ । यसअघि पनि विभिन्न उमेर समूहको प्रतियोगितामा लगातार तेस्रो पटक सहभागिता जनाएका प्रशान्तलाई पहिलोपटक कप्तानको जिम्मेवारी दिइएको हो ।

नेपाल सम्मिलित समूह 'ए'मा श्रीलंका र बंगलादेश छन् । नेपालले भोलि घरेलु टोली श्रीलंकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । समूह 'बी'मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

दुवै सेमिफाइनल खेल सेप्टेम्बर २५ तथा फाइनल सेप्टेम्बर २७ मा हुनेछ ।