नेपालगञ्ज टेन नाइट रेस स्थगित

भाद्र २९, २०८२ |खेल ब्युरो
नेपालगञ्ज टेन नाइट रेस स्थगित

काठमाडौं । आगामी शुक्रबार हुने तालिका रहेको नेपालगञ्ज टेन नाइट रेस स्थगित भएको छ । 

जेन-जी बिद्रोहको असर देशका सबै पक्षमा पर्दा आगामी असोज ३ गतेका लागि तय गरिएको रेस स्थगित गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको आयोजक समितिको भर्चुवल बैठकले वर्तमान अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिता तत्कालका लागि स्थगित गरिएको जनाएको हो । 

अवस्था सामान्य भएपछि प्रतियोगिता पुन: गर्ने आयोजकको तयारी छ । नेपालगञ्ज टेन नाइट रेसले हालै विश्व दौडको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स) बाट पूर्णकालीन सदस्यता प्राप्त गरेको थियो । 

एम्सको सदस्यता पाएपछि पहिलो पटक आधिकारिक रूपमा रेस आयोजना गर्ने तयारी भए पनि हुन सकेन । यस पटकको विजेतालाई थाइल्यान्डको पर्यटकीय सहर बाङ्सेनमा हुने विश्वस्तरीय सडक दौडमा सहभागी गराउने तयारीसमेत थियो ।

नाइट रन स्थगितसँगै आयोजक टिम असोज २८ गते हुने गौघाट ग्रीन रन र मंसिर ६ गते हुने धारा नेपालगन्ज म्याराथनको तयारीमा जुट्ने बताइएको छ ।

देशको वर्तमान अवस्थाकै कारण यसअघि नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको देशव्यापी ट्रफी टुर र पोखरामा जारी एभरेस्ट महिला लिगको दोस्रो संस्करणबीचमै स्थगित गरिएको थियो ।