काठमाडौं । नेपालमा आगामी कात्तिक ३० देखि मंसिर ७ गतेसम्म हुने तालिका रहेको काभा महिला नेसन्स लिग भलिबल प्रतियोगिता स्थगित भएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को भर्चुअल बोर्ड बैठकले काठमाडौंको टुंडिखेलमा हुने भनिएको प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । काभाले नेपालमा उत्पन्न जटिल राजनीतिक परिस्थितिको समाधान चाँडै हुने अपेक्षा गर्दै सम्भव भएसम्म चाँडै प्रतियोगिता गर्ने आशा व्यक्त गरेको छ ।
यस्तै, नेपाल भलिबल संघले पनि विज्ञप्ति जारी गर्दै पछिल्लो परिस्थितिका कारण प्रतियोगिता तोकिएको मितिमा हुन नसकेको जनाएको छ । संघले अधिकांश सदस्य राष्ट्रले नेपालमा टिम पठाउन अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना चुनौतीपूर्ण बनेको उल्लेख गरेको छ ।