यूएस ओपन फाइनल : यानिक सिनर र कार्लोस अल्काराजबीच प्रतिस्पर्धा, ट्रम्प पनि उपस्थिति हुँदै

भाद्र २२, २०८२ |खेल ब्युरो
यूएस ओपन फाइनल : यानिक सिनर र कार्लोस अल्काराजबीच प्रतिस्पर्धा, ट्रम्प पनि उपस्थिति हुँदै

काठमाडौं । वर्षको अन्तिम ग्रान्डस्ल्याम टेनिस प्रतियोगिता यूएस ओपन पुरूष एकलको बहुप्रतिक्षित फाइनलमा आइतबार विश्व नम्बर एक यानिक सिनर र नम्बर दुई कार्लोस अल्काराज प्रतिस्पर्धा गर्दै छन् ।

न्युयोर्कस्थित आर्थर एस स्टेडियममा खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरू हुने छ । यो खेल हेर्न अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प पनि उपस्थित हुने छन् । ट्रम्पको उपस्थितिका कारण न्यूयोर्क वरिपरिको उडान केही समयका लागि बन्द हुनेछ । आयोजक यूएस टेनिस संघले प्रसारकहरूलाई खेलका क्रममा ट्रम्पको उपस्थितिबारे बढी प्रतिक्रिया नदेखाउन आग्रह गरेको छ ।

यस वर्ष यी दुई खेलाडी लगातार तेस्रो ग्रान्डस्ल्याम फाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि अल्काराजले गत जुनमा फ्रेन्च ओपन जितेका थिए भने जुलाईमा विम्बल्डनको उपाधि सिनरले कब्जा गरेका थिए । 

इटालियन स्टार सिनर र स्पेनिस स्टार अल्काराजबीच अहिलेसम्म १४ पटक भिडन्त भएको छ । जसमा अल्काराजले ९ खेल जितेका छन् भने सिनर ५ खेलमा विजय भएका छन् । 

पछिल्ला सात खेलमध्ये ६ मा अल्काराज विजयी भएका छन् । यद्यपि, सिनरले यस वर्षको विम्बल्डन फाइनलमा अल्काराजलाई पराजित गरेका थिए । करिअर उपलब्धिको हिसाबले अल्काराजले ५ वटा ग्रान्डस्ल्याम उपाधि जितेका छ । 

उनीसँग २०२२ यूएस ओपन, २०२३ र २०२४ विम्बल्डन, २०२४ र २०२५ फ्रेन्च ओपनको उपाधि छ । सिनरले २०२४ अष्ट्रेलियन ओपन, २०२४ यूएस ओपन, २०२५ अष्ट्रेलियन ओपन र २०२५ को विम्बल्डनसहित ४ मेजर उपाधि जितेका छन् ।

सिनरले पछिल्लो दुई वर्ष यता असाधारण प्रदर्शन गरेका छन् । २०२४ पछि खेलेका आठ हार्ड कोर्ट ग्रान्डस्ल्याममध्ये तीन उपाधि जितेका छन् र ६५-४ को अभूतपूर्व रेकर्ड बनाएका छन् । २४ वर्षीय सिनर र २२ वषिर्य अल्काराज नयाँ पुस्ताका सबैभन्दा सफल खेलाडी समेत हुन् ।

दुवैबीचको प्रतिद्वन्द्विता हाल टेनिस संसारकै सबैभन्दा ठूलो भिडन्तका रूपमा चित्रण गरिन्छ । २०२३ पछि भएका सबै ग्रान्डस्ल्याम उपाधि यी दुईबीच नै बाँडिएका छन् । त्यसैले आइतबार हुने फाइनल यूएस ओपनको उपाधि मात्र नभई विश्व नम्बर एकमा स्थान सुरक्षित गर्ने निर्णायक संघर्ष समेत हो ।