सुनसरी । जेन-जी युवाहरूले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका इटहरीका अभिषेक श्रेष्ठ र मोहन सरदारको शवयात्रासहित अन्त्येष्टि गरिएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि राखिएको शव अभिभावकहरूले बुझेपछि आइतबार साँझ अन्त्येष्टि गरिएको हो । मृतकका आफन्तसहित स्थानीयको सहभागितामा शवयात्रा निकालेर इटहरीको बुढीगंगा मुक्ति घाटमा उनीहरूको अत्येष्टी गरिएको हो ।
गत भदौ २३ गते इटहरी उपमहानगरपालिकाको कार्यालयको मुख्य प्रवेशद्वार अगाडी भएको प्रदर्शन तथा झडपमा उनीहरूको प्रहरीले चलाएको गोलीबाट मृत्यु भएको थियो ।
इटहरी १६ मा बस्दै आएको २३ वर्षीय श्रेष्ठको घटनास्थलमै र इटहरी १४ का ४० वर्षीय सरदारको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।