एसीसी एसिया पुरूष टी-२० कपमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै

जित्ने टोलीले सुपर फोरमा स्थान सुरक्षित गर्ने
भाद्र २९, २०८२ |खेल ब्युरो
एसीसी एसिया पुरूष टी-२० कपमा आज चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै

काठमाडौं । एसीसी एसिया पुरुष टी-२० कप २०२५ अन्तर्गत समूह 'ए'को बहुप्रतिक्षित खेलमा आइतबार दुई चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन् ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा ८ बजे सुरू हुने छ । गत मेमा दुई देशबीच भएको सैन्य आक्रमणपछि भारत-पाकिस्तान पहिलो पटक एक अर्काविरुद्ध मैदानमा उत्रिन लागेका हुन् । 

दुवै टोलीले प्रतियोगितामा विजयी सुरूवात गरेको हुँदा यो खेल जित्ने टोलीले सुपर फोरमा स्थान सुरक्षित गर्ने छ । आफ्नो पहिलो खेलमा भारतले यूएईलाई ९ विकेटले पराजित गरेको थियो भने पाकिस्तानले ओमानलाई ९३ रनले हराएको थियो ।

टी-२० आई प्रारूपमा दुई टोलीबीच हालसम्म १३ खेल भएकोमा भारतले ९ र पाकिस्तानले ३ खेल जितेको छ । एक खेल बिना नतिजा समाप्त भएको छ । पछिल्लो १३ वर्षमा टी-२० आई क्रिकेटमा पाकिस्तानले भारतविरूद्ध केबल २ खेल जितेको छ ।

समग्रमा यो टी-२० आई प्रारूपमा एसिया कप खेलिन लागेको यो तेस्रो पटक हो । यसअघि २०१५-१६ मा भारत र २०२२ मा श्रीलंकाले उपाधि जितेको थियो । पाकिस्तानले टी-२० एसिया कप जित्न सकेको छैन ।

समूह 'ए'मा दुवै टिमको १ खेलमा समान २-२ अंक रहे पनि नेट रन रेटका आधारमा भारत शीर्ष स्थानमा छ । पाकिस्तान समूहको दोस्रो स्थानमा रहँदा अंकविहीन ओमान र यूएई क्रमस: तेस्रो र चौथो स्थानमा छन् ।