रुकुम पूर्वका गोठालाको जीवन : लेक-बेसी गर्दै भेडासँगै बाँढिएको सुख-दुःख

भाद्र २९, २०८२ |महेश केसी
रुकुम पूर्वका गोठालाको जीवन : लेक-बेसी गर्दै भेडासँगै बाँढिएको सुख-दुःख

रुकुम पूर्व । भेडा पालनलाई मुल पेशा बनाउनेको संख्या रुकुम पूर्वमा धेरै छ । भेडाको बथान लिएर कहिले लेक त कहिले बेसी गर्दै जीवन बिताईरहेका यहाँका भेडा किसानका गोठ सार्दाको सुख-दुःख बेग्लै छ । 

चैतमा पाटन उक्लेका गोठालाहरु भदौंसम्म चरण खोज्दै यही आसपासका खर्कहरुमा हरेक महिनाजसो गोठ सारिरन्छन् । अहिले भने यही भदौं महिनाभित्र उनीहरु बेसी झर्ने तयारी गर्दैछन् ।

शिरशिरे बतास चलिरहने अग्लो डाडाँ, उत्तरतिर हिमाल झलल... अरुतिर पहाड गजधम्म । यही भेग र भुगोलमा बर्खे झरीसँगै पलाएको हरियो खर्कमा चरिहेछन् भेडाहरु आफ्नै धुनमा ।

दिनभरि भीर-पहराको खान्की चिथोरेपछि साँझपख गोठालाको सामान्य संकेत पाउने बित्तिकै सरासर गोठतिर फर्किन्छन्, भेडाको बथान लहरै लागेर । गोठनजिकै खुला ठाउँमा जम्मा भएका भेडाको अवस्थाबारे बुझेपछि गोठालाहरु पनि गोठमा फकिन्छन् ।

चैतमा पाटन उक्लेका गोठालाहरु भदौंसम्म चरण खोज्दै यही आसपासका खर्कहरुमा हरेक महिनाजसो गोठ सारिरन्छन् । अब यही भदौं महिनाभित्र उनीहरु बेसी झर्ने तयारी गर्दैछन् । बेसी अर्थात् हुकाम गाउँ ।

गाउँभन्दा नजिकैको गोठमा भेडा राखेर उनीहरु मुलघरमा पुगी चाडबाड मनाउछन् । भदौं पछिका बाँकी ६ महिना उनीहरु अग्ला पाटनभन्दा तल जहाँ हिउँ कम पर्छ त्यही आसपासमा भेडाको चरिचरन खोज्दै दिन बिताउँछन् ।

गोठालाका मेहनत र सुख-दुःखका कथा यी पहाडभन्दा कम्ता अग्ला छैनन्, यहाँ चल्ने हावाको सिरेटोभन्दा कम्ता चिसा छैनन् । मुख्यतः भेडा बेचेरै आम्दनी गर्ने उनीहरुका यी भेडाको मुल्य फरक-फरक हुन्छ । प्रति भेडा १५ देखि ३० हजारसम्म । 

पहिले-पहिले ऊन पनि बिक्रि हुन्थ्यो अबभने यसको व्यापार निकै कम भएको छ । समयसँगै मान्छेको जीवनशैलीमा धेरै बदलाव आएपनि यी गोठालाहरुको दैनिकी र सुरक्षाको कुरा भने भगवान् भरोसा जस्तै छ ।

एकै घरका करिब १ सय जति भेडा हुन्छन् । अनि १५ सय देखि २ हजारवटा भेडाको एउटा बथान बनाएर पालैपालो ४-५ जनाको समुह बनाएर वथानको रेखदेख गर्ने र गोठ कुर्ने उनीहरुको चलन छ । यसरी हेर्दा गोठालाका सुख-दुःखहरु कहिल्यै एकल हुदैनन्, सधै साँझा हुन्छन् ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।