काठमाडौं । विश्व नम्बर एक आरिना साबालेन्काले युएस ओपन टेनिसको उपाधि रक्षा गरेकी छन् ।
बेलारूसियनले फाइनलमा अमेरिकाकी एमान्डा एनिसिमोभालाई सोझो सेटमा पराजित गरेकी हुन् । साबालेन्काको वर्षको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।
न्यु योर्कमा भएको खेलमा २७ वर्षीया साबालेन्काले, घरेलु खेलाडी एनिसिमोभा विरूद्धको पहिलो सेट ६-३ ले जितेकी थिइन् । दोस्रो सेट टाइब्रेकरमा पुग्यो । तर एनिसिमोभाले , साबालेन्कालाई रोक्न सकिनन् ।
७-६ ले एनिसिमोभलाई पराजित गर्दै साबालेन्काले करियरको चौथो ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनी सन २०१४ मा अमेरिकाकी सेरेना विलियम्स पछि युएस ओपनको उपाधि रक्षा गर्ने पहिलो महिला खेलाडी हुन् ।
यो सिजन डब्लु.टि.ए.मा सवैभन्दा सशक्त खेलाडीका रुपमा रहेकी साबालेन्काले ग्रान्डस्लामको अन्तिम समयमा राम्रो खेल्न नसकेको आरोप खेप्दै आएकी थिइन् । अस्ट्रेलियन ओपनमा अमेरिकाकै मेडिसन किजसँग हारेकी साबालेन्काले फ्रेन्च ओपन कोको गौफलाई दिएकी थिइन् ।
विम्बल्डनको सेमीफाइनलमा उनले एनिसिमोभासँगनै हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिइन् । तर उनले न्यु योर्कमा विजेता बनेसँगै सवै प्रश्नहरूको जवाफ दिइन् । उनको ग्रान्डस्लाममा यो एक सयौं जित पनि हो ।
यो खेल अघिसम्म हेड टु हेडमा एनिसिमोभा ६-३ ले अघि रहेकी थिइन् । तर यी दुई बीचको दशौं भेट भने फरक रह्यो । विम्बिल्डनको फाइनलमा इगा स्वान्तेकसँग ६-शुन्य, ६-०को हार बेहोरेकी एनिसिमोभाले युएस ओपनमा निकै राम्रो प्रदर्शन गरिन् ।
तर घरेलु कोर्टमा साबालेन्काले दिएको दबाब झेल्न भने सकिनन् । यद्यपि, नयाँ वरियता सार्वजनिक हुँदा एनिसिमोभा चौथो स्थानमा उक्लनेछिन् । जितपछि साबालेन्काले केही तनाब बिना जित संभव नहुने प्रतिृकया दिएकी थिइन् ।
पुरुष तर्फको फाइनलमा विश्व नम्बर एक यानिक सिनर र नम्बर दुई कार्लोस आल्काराज भिड्दैछन् ।