काठमाडौं । पोखरामा जारी दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगमा साविक विजेता कर्णाली यश्विस र उपविजेता ललितपुर क्विन्सले लगतार दोस्रो जित हात पारेका छन् ।
शनिबार पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भएको दोस्रो दिनको पहिलो खेलमा ललितपुरले काठमाण्डौं स्पाइकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।
पहिलो सट २५-१९ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट २५-२३ र तेस्रो २५-२१ ले जित्दै लगातार दोस्रो जित हात पारेको हो । ललितपुरले पहिलो खेलमा मधेश युनाइटेडलाई पराजित गरेको थियो । यस खेलको प्लेयर अफ द म्याच ललितपुर क्विन्सकी दारिन पिन्सुआन भईन् ।
यस्तै दोस्रो खेलमा कर्णालीले लुम्बिनी लाभाजविरुद्ध ३-१ को जित हात पार्यो । पहिलो सेट २५-२३ ले जितेको लुम्बिनीले त्यसपछिको तीन सेट गुमाउन पुग्यो । निक्कै प्रतिष्पर्धात्मक बनेको खेलमा कर्णालीले सानदार पुनरागमन गर्दै दोस्रो सेट २५-२१ तेस्रो सेट २५-१७ र चौथो सेट २५-२२ सेटले आफ्नो बनायो ।
खेलको पहिलो सेटमै लुम्बिनीकी मार्की एवं कप्तान अरुणा शाही घाइते भएर मैदान बाहिरिएपछि कर्णालीलाई जितका लागि थप सहज भयो । आफ्नो पहिलो खेलमा कर्णालीले पोखरा निन्जाजलाई सोझो सेटमा पराजित गरेको थियो । कर्णाली यश्विसकी मयरा भिटोरिया म्या अपल दी घोषित भइन् ।
लगातार दुई खेल जित्दै कर्णाली र ललितपुरले समान ६-६ अंक जोडेका छन् । आजै सम्पन्न दिनको तेस्रो खेलमा मधेस युनाईटेडले पोखरा निन्जाजलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
लिगको तेस्रो दिन भोलि दुई खेल हुँदै छ । पहिलो खेल काठमाडौं स्पाइकर्स र मधेस युनाईटेडबिच हुने छ भने दोस्रो खेल लुम्बिनी लाभाज र पोखरा निन्जाजबिच हुने छ । भदौ २८ गतेसम्म चल्ने लिगमा विदेशी खेलाडी सम्मिलित ६ टिमको सहभागिता छ ।