नयाँ मन्त्रालय, नयाँ आशा : विज्ञान र प्रविधिमा साढे ४ अर्ब बजेट

जेष्ठ १७, २०८३ |नारायण किलम्बू
नयाँ मन्त्रालय, नयाँ आशा : विज्ञान र प्रविधिमा साढे ४ अर्ब बजेट

काठमाडौं । सरकारले यसपटक विज्ञान र प्रविधिका क्षेत्रमा ४ अर्ब ५० करोड बजेट छुट्याएको छ। 

तर, यो बजेट नवप्रवर्तनका लागि पनि हो। हुन त यसमध्ये धेरै हिस्सा प्रशासनिक र व्यवस्थापकीय कामका लागि खर्च हुनेछ। अध्ययन, अनुसन्धान र ठोस परिणाम आउने योजनाका लागि कति खर्च होला ? नेपालले विज्ञान र प्रविधिको क्षेत्रमा मार्ने फड्को यसैले निर्धारण गर्नेछ।

सरकारले मन्त्रालय संख्या २५ बाट झारेर १८ वटा बनाउँदा जन्मिएको नयाँ मन्त्रालय हो - विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय। कहिले शिक्षा त कहिले वातावरण मन्त्रालयको छायाँमा पर्दा बजेटसमेत अभाव हुँदै आएकोमा यसपटक मन्त्रालय त अलग्गै बनेको छ नै, साढे ४ अर्ब बजेटसमेत विनियोजन भएपछि विज्ञान र प्रविधि क्षेत्रमा उत्साह छाएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टलाई यसै मन्त्रालयअन्तर्गत राखिएको छ। हुन त सरकारले छुट्याएको बजेटको धेरै अंश कर्मचारीको तलब, दैनिक प्रशासनिक खर्च जस्ता विषयमा खर्च हुनेछ। अध्ययन, अनुसन्धानका लागि पर्याप्त खर्च हुन सकेमा परिणाम पनि प्राप्त हुन सक्छ। 

हुन त कृषि, स्वास्थ्य, यातायात, सुचना प्रविधि, आवासजस्ता हरेक विषयसँग विज्ञान र प्रविधि जोडिने भएकाले हरेक क्षेत्रका वैज्ञानिकहरुलाई मन्त्रालयले एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको छ। बजेट अभावमा नयाँ वैज्ञानिक अनुसन्धान हुन नसकिरहेका कारण अवसरको खोजीमा वैज्ञानिकहरु विदेशिइरहेका छन् । 

यसपटक सरकारले त्रिभुवन र काठमाडौं विश्वविद्यालयका विज्ञान र प्रविधि तथा इनोभेसनसँग सम्बन्धित नविनतम अनुसन्धानहरुलाई उद्योगसँग जोड्न र स्टार्टअपको रुपमा विकास गर्ने सरकारको योजना देखिन्छ। सरकारले आगामी आर्थिक वर्षका लागि पेस गरेको बजेटमा युवाहरुलाई प्रविधिका क्षेत्रमा परिचालन गर्न विशेष प्राथमिकता दिइएको छ । 

एआई आर्टिफिसियल इन्टेलिजेन्स डाटाबेस तयार गर्नका लागि वैज्ञानिकहरुलाई सहभागी गराउने सरकारको योजना छ । खगोल पर्यटन प्रवद्धन गर्न सगरमाथा आधार शिविरमा अब्जरभेट्‌री केन्द्र स्थापना गर्ने प्रतिबद्धताले वैज्ञानिकहरुमा उत्साह थपिने अपेक्षा विज्ञको छ ।

नेपालमा पहिलोपटक पुँजीगत खर्चको एक प्रतिशतको हाराहारीमा अर्थात ४ अर्ब ५० करोड विज्ञान प्रविधि र नवप्रवर्तन क्षेत्रमा विनियोजन भएको छ । मन्त्रालयगत रुपमा हेर्दा अन्य दुई मन्त्रालय भन्दा यो बढी हो। तर, डिजिटल अर्थतन्त्रलाई प्राथमिकता दिएको सरकारले हरेक क्षेत्रमा आवश्यक प्रविधि रुपान्तरणका लागि अनुसन्धान र पूर्वाधारको विकासका लागि अझै लगानी बढाउनुपर्नेछ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।