काठमाडौं । नेपाल र बंगलादेशबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४ हजार ८ सय ८ दर्शक माझ नेपालले बंगलादेशलाई दबाबमा राखेपनि गोल गर्न सकेन । दुबै टोलीलेपहिलो हाफमा समान एक–एक प्रहार मात्र लक्ष्यमा लगाएका थिए । तर, दुवैपटक गोलकिपरको सजगताले गोल हुन पाएन ।
खेलको १०औं मिनेटमा बंगलादेशका कप्तान जमाल भुयानको कर्नर क्रसमा राकिब होसेनले हेडमार्फत बललाई पोस्टतर्फ पठाए पनि नेपाली गोलकिपर किरण चेम्जोङले उत्कृष्ट बचाउ गरे ।
खेलको ३०औं मिनेटमा अञ्जन विष्टमाथि भुयानले फाउल गरेपछि नेपालले फ्रिकिकमार्फत गोलको प्रयास गरेको थियो । मणि लामाको प्रहारमा रक्षक अनन्त तामाङले हेडमार्फत बललाई दोस्रो बारको दिशा दिएका थिए ।
तर, बंगलादेशी गोलकिपर मोहम्मद सुजोन होसेन बाधक बन्दा नेपालले अग्रता लिने अवसर गुमाएको थियो । त्यसको केही मिनेटपछि नेपालले त्यही क्षेत्रमा अर्को फ्रिकिक अवसर पाएको थियो । तर मणिको प्रहारलाई सुजोनले सजिलै नियन्त्रणमा लिए ।
३८ औं मिनेटमा बंगलादेशले गोलको अर्को अवसर सिर्जना गर्यो । बक्सभित्रबाट सुमोन रेजाले गरेको प्रहार क्रसबारभन्दा माथिबाट बाहिरिएको थियो । किरण चेम्जोङ अगाडि बढेको मौकामा बंगलादेशी खेलाडीले फिनिस गर्न नसक्म्दा पहिलो हाफ गोल बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा पनि दुवै टोलीले गोल गर्न सकेनन् । खेलको ६८ औं मिनेटमा जिलेश्पीजंग कार्कीले लामो दारीबाट गरेको प्रहार बंगलादेशका किपरले रोके । खेलको ७६ औं मिनेटमा बंगलादेशका रकिब होसेनको पासमा सोहेल रानाको प्रयासलाई कीरणले रोके ।
नेपाली राष्ट्रिय पुरुष टोलीले २१ महिनापछि दशरथ रंगशालामा पहिलो खेल खेलेको हो । नेपाल र बंगलादेशबीचको दोस्रो खेल मंगलबार हुनेछ । यो खेल पनि बराबरीमा सकिए पेनाल्टी मार्फत विजेताको टुङ्गो लाग्ने छ ।