एन्फा महिला लिग : एनआरटी र राप्ती एफसीको जितसँगै छनोट हुने सम्भावना बलियो

भाद्र १८, २०८२ |खेल ब्युरो
एन्फा महिला लिग : एनआरटी र राप्ती एफसीको जितसँगै छनोट हुने सम्भावना बलियो

काठमाडौं । एन्फा महिला लिगमा बुधबारदेखि छैटौं तथा अन्तिम चरणका खेल सुरू भएका छन् । च्यासल रंगशालामा बुधबार सम्पन्न खेलमा न्यू रोड टिम एनआरटीले बुटवल लुम्बिनी एफसीलाई हराएर महिला लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।

बुधबार भएको खेलमा एनआरटीले बुटवल लुम्बिनी एफसीलाई २-० ले हराएको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । एनआरटीलाई जित दिलाउन खेलको ६५औं मिनेटमा जुना तामाङले गोल गरिन । 

८४औं मिनेटमा कप्तान प्रतिक्षा ठकुरीले अग्रता दोब्बर बनाईन । यो जितसँगै ५ खेलमा १२ अंक बनाएको एनआरटी समूह 'बी'को दोस्रो स्थानमा छ। यो जितसँगै उसको छनोट हुने सम्भावना बलियो बनेको छ ।

बुधबारको पहिलो खेलमा भने राप्ती एफसीले चर्च बोईज युनाईटेडको अपराजित यात्रालाई पूर्णविराम लगाइदिएको छ। चर्चलाई राप्तीले २-१ गोल अन्तरले पराजित गरेको हो। 

१४ मिनेटमा चर्च बोइजकी सिताकुमारी नाथले आफ्नै पोस्टमा गोल गरेपछि राप्तीले गोल कोसेली पाएको थियो। पहिलो हाफमा १-०ले अघि रहेको राप्तीका लागि मनिषा सेनले ६१ औं मिनेटमा गोल गरिन्। 

इन्ज्युरी समयमा वर्षाले एक गोल फर्काएको भए पनि चर्च बोइजले हार टार्न सकेन्। चौथो जितसँगै राप्तीको ६ खेलमा १३ अंक भएको छ र उसको पनि छनोट हुने सम्भावना बलियो बनेको छ । 

यो जितसँगै राप्ती समूहको शीर्षस्थानमा उक्लिएको छ। आजको हारसँगै चर्च बोइजले एक खेल अगावै महिला लिगमा छनोट हुने अवसरसमेत गुमाएको छ। यो समूहबाट छनोट हुने टोलीको टुंगो अब अन्तिम चरणको खेलको समाप्तिपछि मात्रै लाग्नेछ। 

समूह 'ए' र बीका शीर्ष २ टोली सिधै एन्फा महिला लिगको लागि छनोट हुनेछन् भने दुवै समूहका तेस्रो हुने टोलीले एउटा प्लेअफ खेल खेल्नेछन् ।