एन्फा महिला लिगको मुख्य ड्रमा स्थान बनाउन सफल संकटाको अबको रणनीति

भाद्र १७, २०८२ |फायेज होदा
एन्फा महिला लिगको मुख्य ड्रमा स्थान बनाउन सफल संकटाको अबको रणनीति

काठमाडौं । लगातार पाँचौं खेल जित्दै संकटा फुटबल क्लब एन्फा महिला लिगको मुख्य ड्रमा स्थान बनाउन सफल भएको छ । 

महिला लिग छनोटमा मंगलबार एनबीएम पोखरा गर्ल्स एफसीलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै संकटाले छनोट चरण पार गरेको हो । 

नेपाली महिला फुटबललाई विश्वमा प्रतिस्पर्धी बनाउन र व्यावसायिक फुटबलको गुणात्मक विकासको लक्ष्य बोकेको संकटा महिला टोली बनाउने ए डिभिजन क्लब मध्ये एक हो । 

अघिल्लो सिजन रेलिगेसनमा परेको संकटाले यस पटक कस्तो प्रदर्शन गर्ला ? गत वर्ष काठमाडौंकै खेलाडीमा आश्रति भएपछि शीर्ष डिभिजनमा आफूलाई स्थापित गर्न नसकेको तीतो सत्यबीच संकटालाई यस पटक टिम बनाउन सहज थिएन ।

डेब्यू सिजनमै रेलिगेसन बेहोरेपछि क्लबले आफ्ना कमी कमजोरीको समीक्षा गर्‍यो र सुधारको बाटोमा अघि बढ्यो । 

क्लबले १४ जना खेलाडीलाई ३ वर्षको दीर्घकालीन सम्झौतामा अनुबन्ध गर्‍यो र ६ महिनाअघि नै मोफसलका विभिन्न प्रतियोगितामा उतार्‍यो ।

विभागीय टोलीहरूलाई कडा चुनौती दिँदै केही खेलमा नतिजा पनि आफ्नो पक्षमा पार्‍यो । परिणामतः छनोट प्रतियोगितामा ५ खेलमा २० गोल गर्दा मात्र दुई गोल बेहोरेर शीर्ष डिभिजनमा पुनरागमन गर्‍यो ।

युवा खेलाडीलाई सामेल गर्नु संकटाको उत्कृष्ट रणनीतिक निर्णय थियो । 

क्लबले आफूलाई बलियो रुपमा स्थापित गर्न अन्डर-२० टिमका ७ खेलाडीलाई अनुबन्धित गर्‍यो । 

यति मात्र होइन नवप्रतिभाको खोजीमा क्लबले देशभर ट्यालेन्ट हन्ट गर्‍यो र अन्ततः बलियो टिम बनाएर मैदानमा उतार्‍यो ।

राम्रो व्यवस्थापन र खेलाडीको मेहनतले संकटाले मुख्य लिगमा स्थान बनाएको हो ।

यसो त पुरुषतर्फ संकटा क्लब सहिद स्मारक ए डिभिजन लिगको बलियो टोलीसमेत हो । 

ऊसँग हाल विभिन्न उमेर समूहका महिला र पुरुषमा समान ५-५ टोली छन् । 

रोचक त के छ भने संकटा एकेडेमीबाटै उत्पादित खेलाडी विभिन्न क्लबमा आवद्ध छन् र संकटाविरुद्ध मैदानमा उत्रिन्छन् ।

महिला लिगमा छनोट हुनु क्लबको आंशिक सफलता मात्र हो । शीर्ष डिभिजनमा विभागीय टिमहरूसाग प्रतिस्पर्धा गर्नु र आफूलाई त्यहाा स्थापित गर्नु संकटका लागि मुख्य चुनौती हुने छ ।


Image

फायेज होदा

फायज कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन्