काठमाडौं । भारतको प्रादेशीक टोली आसामसँगको पहिलो टी-ट्वेन्टी खेलमा नेपाल 'ए' पराजित भएको छ । भारतको गुवाहाटीमा आजदेखि सुरु भएको सिरिजअन्तर्गत उद्घाटन खेलमा नेपाल डीएलएस पद्धतिअनुसार आसामसँग १५ रनले पराजित भएको हो ।
यससँगै घरेलु टोली आसामले ५ खेलको सिरिजमा एक-शून्यको अग्रता बनाएको छ ।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९० रनको योगफल तयार पारेको थियो । आसामका लागि कप्तान सुमित घदिअन्करले ३४ रन र रोहित सेनले २४ रनको योगदान दिए । मिडिल ओभरमा नेपालका बलरहरूले राम्रो नियन्त्रण गरे पनि अन्तिम दुई ओभरमा ५० रन खर्चिएका थिए । आकाश सेनगुप्ताले ८ बलमा अविजित २४ रन जोड्दा अभिनव चौधरीले ७ बलमै नटआउट २६ रन बनाएका थिए । नेपालका लागि आकाश चन्दले ३ विकेट लिए । विवेक यादव र कमलसिंह ऐरीले समान २-२ तथा आदिल आलमले १ विकेट हात पारे ।
आसामले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल 'ए' ले ८ ओभरमा ३ विकेट गुमाएर ६४ रन बनाएको थियो तर बर्षाले खेल रोकिएपछि पुनः सुरु हुन नसक्दा नेपाल पराजित हुान पुग्यो ।
दुई टोलीबीचको दोस्रो खेल भोलि खेलिने छ । त्यसपछि दुई टोलीबीच लगातार ३ डे-नाइट टी-२० खेल खेल्ने छन् ।