साफ महिला यू-१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियाे नेपाल

भाद्र ११, २०८२ |खेल ब्युरो
साफ महिला यू-१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरियाे नेपाल

काठमाडौं । नेपाल साफ महिला यू-१७ च्याम्पियनसिपको उपाधि होडबाट बाहिरिएको छ । 

भुटानमा जारी प्रतियोगिताअन्तर्गत डिफेन्डिङ च्याम्पियन बंगलादेशसँग लगातार दोस्रो हार बेहोरेपछि नेपालको उपाधि सम्भावना समाप्त भएको हो ।

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा सम्पन्न दोस्रो चरणको खेलमा नेपाल बंगलादेशसँग ४-१ गोल अन्तरले पराजित भएको हो । पहिलो लेगमा नेपाल ३-० ले पराजित भएको थियो ।

बंगलादेशको सानदार जितमा सौरभी अखण्ड प्रीतिले ह्याट्रिक पूरा गरिन् भने थुनुए मार्माले एक गोल थपिन् । नेपालको एक मात्र गोल कप्तान भूमिका बुढाथोकीले फर्काइन् ।

खेलको ३८औं मिनेटमा मार्माको गोलमार्फत बंगलादेशले सुरूवाती अग्रता बनाएको थियो । ४४औं मिनेटमा प्रीतिले अग्रता दोब्बर बनाइन् । पहिलो हाफको इन्जुरी समयमा भूमिकाले नेपालका लागि गोल सान्तोवना गोल फर्काएकी थिइन् । 

७१औं मिनेटमा प्रीतिले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशको अग्रता ३-१ बनाइन् । ८६औं मिनेटमा उनले ह्याट्रिक पूरा गरिन् । यससँगै बंगलादेश चार खेलमा ९ अंक जोडेबको छ । 

समान खेलमा १ जित र २ हार बेहोरेको नेपालको ३ अंक छ । यस हारसँगै नेपालको उपाधि जित्ने सम्भावना पनि समाप्त भएको छ । नेपालले शुक्रबार भारत र आगामी आइतबार भुटानको सामना गर्ने छ । 

डबल राउण्ड रोविन लिग पछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्ने छ ।