काठमाडौं । एन्फा महिला लिगमा चर्च ब्वाइज युनाइटेडको महिला टोलीले लगातार तेस्रो जित हात पारेको छ । बुधवार सम्पन्न खेलमा चर्च ब्वाइजले स्टुडेन्ट क्लबविरुद्ध ४-० गोलअन्तरको एकतर्फी जित हात पारेको हो ।
चर्च ब्वाईजको जितमा वर्षा मगर, सरिताकुमारी नाथ, वर्षा ओली र आरती भुजेलले समान १-१ गोल गरे । ललितपुरस्थित च्यासल मैदानमा वर्षा मगरले खेलको ३७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सुमन श्रेष्ठको टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफमा १-० को अग्रता बनाएको टोलीले दोस्रो हाफमा थप ३ गोल गर्यो । ६५औं मिनेटमा सरिताले गोल गरेपछि चर्च ब्वाईजले अग्रता दोब्बर पारेको थियो । त्यसको १० मिनेटपछि वर्षा ओलीले टिमका लागि तेस्रो गोल थपिन् ।
अतिरिक्त समयको छैटौं मिनेटमा आरतीले गोल गरेपछि चर्च ब्वाईजले ४-० गोलअन्तरको एकतर्फी जित पक्का गरेको हो ।
समूह एमा रहेको चर्च ब्वाइज जारी प्रतियोगितामा अपराजित छ । उसले ३ खेल शतप्रतिशत नतिजा हात पार्दै ९ अंक जोडेको छ । ४ खेलमा २ जित र २ हार बेहोरेको स्टुडेन्ट क्लबको ६ अंक छ । आजै भएको अर्को खेलमा झापा एफसीले न्यूरोड टिम एनआरटीलाई दुई-एक गोलले पराजित गर्यो । झापाको जितमा सुनकला राई र इमा राईले समान १-१ गोल गरे । एनआरटीका लागि अतिरिक्त सयमको अन्तित मिनेटमा संगीताकुमारी मल्लले एक गोल फर्काइन् ।