फुटबल रङ्गशाला निर्माणको लागि सूर्यविनायक नगरपालिकाले २०० रोपनी जग्गा उपलब्ध गराउने

भाद्र ११, २०८२ |खेल ब्युरो
फुटबल रङ्गशाला निर्माणको लागि सूर्यविनायक नगरपालिकाले २०० रोपनी जग्गा उपलब्ध गराउने

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकाद्वारा नयाँ तथा आधुनिक फुटबल रङ्गशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने सैद्धान्तिक सहमति जनाएको छ ।

अखिल नेपाल फुटबल सघं-एन्फाले सामाजिक सञ्जालमार्फत नगरपालिकाको वडा नम्बर ८ मा करिब दुई सय रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्न सहमति भएको जानकारी दिएको हो । 

सोहीअनुसार बुधबार नगरपालिका प्रमुख बासु थापाले रङ्गशाला निर्माणका लागि एन्फाका महासचिव किरण राईलाई सिफारिसपत्र हस्तान्तरण गरेका छन् ।

यसअघि एन्फाको कार्यसमितिको बैठकले नयाँ रङ्गशाला निर्माण गर्ने निर्णय गरेको थियो । त्यसअनुसार एन्फा नेतृत्वले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटक-पटक भेटघाट गरेको थियो ।

प्रधानमन्त्री ओलीले सो क्रममा विशेष चासो देखाउँदै झन्डै ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियम निर्माण गर्ने सार्वजनिक घोषणा समेत गर्नु भएको थियो । 

प्रधानमन्त्रीको पहलसँगै युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङको संस्थागत समन्वय र सहयोगमा एन्फाको प्रस्तावलाई नगरपालिकाले अनुमोदन गरेको एन्फाले जनाएको छ ।